अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका-२, तेघरीस्थित ज्ञानज्योति स्कुलमा आयोजित दुई हप्ते ‘पोटरी तथा सिरेमिक मेकिङ्ग’ तालिम शुक्रबार एक विशेष समारोहका साथ सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालयको आर्ट एण्ड क्राफ्ट विभाग र ज्ञानज्योति स्कुलको सहकार्यमा सञ्चालन गरिएको तालिमले विद्यार्थीहरूमा सिर्जनशीलता, सीप विकास र सांस्कृतिक चेतनाको नयाँ अध्याय थपेको छ।
कक्षा ५ देखि १० सम्मका ३५ जना विद्यार्थीहरूको सक्रिय सहभागितामा सम्पन्न तालिममा माटोबाट विविध रचनात्मक भाँडाकुँडा निर्माण गर्ने सीप प्रदान गरिएको थियो। “हातहरू माटोसँग मिसिन्छन् र रचनात्मकता स्वतन्त्र रूपमा बग्छ” भन्ने मूल मन्त्रसहित अघि बढाइएको तालिमले विद्यार्थीहरूमा आत्मविश्वास र कलात्मक अभिव्यक्ति क्षमताको अभूतपूर्व विकास गराएको विद्यालय प्रशासनले जनाएको छ।
तालिम अवधिभर विद्यार्थी सहभागीहरूले माटोको तयारी, आकार दिनु, डिजाइन बनाउने प्रविधि र सिर्जनात्मक अभ्यासहरूमा सहभागिता जनाए। काठमाडौं विश्वविद्यालयबाट आएका प्रशिक्षक सबिता कुमाल, जस्मिता थारु र ज्ञानबहादुर थारुले तालिममा सहजकर्ता भूमिका निर्वाह गरेका थिए।
विद्यालयका संस्थापक जगबिर थापाले यस्ता तालिमहरूबाट विद्यार्थीहरूमा समसामयिक सीप सिकाउने, भविष्यमा व्यवसायिक बाटो समात्न प्रेरित गर्ने, सामाजिक उत्तरदायित्वको बोध गराउने र विद्यालयको शैक्षिक वातावरण अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको बताए। उनले परम्परागत कला संस्कृतिको संरक्षण गर्दै आधुनिक सोचसहित विद्यार्थीहरूलाई इन्टरप्रिनरसिपतर्फ अभिप्रेरित गर्न तालिम महत्वपूर्ण रहेको समेत उल्लेख गरेका थिए।
ज्ञानज्योति स्कुल , किड्स जोन स्कूल र एभरेस्ट एकेडेमीको सहकार्यमा आ-आफ्नो विद्यालयमा सञ्चालन गरिएको तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने विद्यालयको जानकारी गराएको छ। यस्ता सिर्जनात्मक तथा विद्यार्थी केन्द्रित कार्यक्रमहरूले विद्यार्थीहरूमा भविष्यप्रतिको दृष्टिकोण प्रष्ट बनाउन सहयोग पुग्ने विद्यालय प्रशासनले विश्वास व्यक्त समेत गरेको छ।