गुलाबको सहरमा भूमि अधिकार सवालमा एमाले महासचिव पोखरेलले गरे गुञ्जायमान उद्घोष

अत्तरिया,नेकपा एमालेको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालले दोस्रो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा टीकापुरमा भव्य शक्ति प्रदर्शन गर्दै भूमिहीन सुकुम्बासीहरूको आवाज बुलन्द पारेको छ।

मंगलबार आयोजित उक्त उद्घाटन समारोहमा नेकपा एमालेका महासचिव शंकर पोखरेलले टीकापुरलाई “गुलाबको सहर” बनाउने स्थानीय जनप्रतिनिधिहरूको संकल्पलाई समर्थन गर्दै, त्यस अभियानमा भूमिहीन नागरिकको मुहारमा हाँसो ल्याउनु नै पहिलो शर्त भएको स्पष्ट पारे। “भूमिहीन सुकुम्बासीलाई अधिकारसहितको भूमि प्रदान गर्नु नै एमालेको पहिलो दायित्व हो,” महासचिव पोखरेलले जोड दिए।

जबजब एमाले सरकार सत्तामा हुँदा मात्र भूमिहीनहरूका सवालहरू संस्थागत रूपमा उठ्ने गरेको उल्लेख गर्दै अहिलेको सरकारले भूमि आयोगमार्फत दुई वर्षभित्र सुकुम्बासीलाई जग्गा लालपुर्जा वितरण गर्ने लक्ष्यसहित काम गरिरहेको समेत  जानकारी दिए।

उनले केही राजनीतिक शक्तिहरूले भूमिहीनहरूको मुद्दामा जनमत भ्रमित गर्न खोजेको आरोप समेत लगाए। “हिजो सदनमा सुकुम्बासीको विपक्षमा मतदान गर्नेहरू आज कोणसभामा आएर पक्षमा वकालत गर्न थालेका छन्,” भन्दै पोखरेलले यस्ता गतिविधिलाई ‘राजनीतिक प्रपञ्च’को संज्ञा दिएका छन् ।

उहाँले टीकापुरलाई पर्यटकीय हबको रूपमा विकास गर्न भूमिहीन जनताको अधिकार सुनिश्चित गर्नु अनिवार्य भएको धारणा राख्दै, गुलाबको सहरको कल्पना तब मात्र सार्थक हुने बताए जब सुकुम्बासीको जीवनस्तर उकासिनेछ। तब हामीहरूले सोचेका र नेकपा एमाले सोचेको राष्ट्रिय आकांक्षाका गतिविधिहरू पूर्ण हुने उहाँले बताएका थिए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, प्रदेशभरिका अग्रज नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। महाधिवेशनको अध्यक्षता पोलिटब्युरो सदस्य शान्ता चौधरीले गरेकी थिइन्।

दुई दिनसम्म टीकापुरमा चल्ने उक्त महाधिवेशनबाट नयाँ नेतृत्व चयनसमेत गरिनेछ। हजारौँ नेता तथा कार्यकर्ता सहभागी उक्त समारोह एमालेको जनसङ्गठनको एक शक्ति प्रदर्शनको सशक्त नमुना बनेको समेत देखिन्छ।

 

ताजा समाचार