अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नं. १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) पछिल्लो समय जनसेवामा आफ्नो समर्पण र निरन्तर सक्रियताका कारण उदाहरणीय जनप्रतिनिधिका रूपमा उदाएका छन्। केही दिनअघि आएको भीषण हावाहुरीले माला खेतीदेखि ओलानीसम्मको विद्युत आपूर्ति पूर्ण रूपमा प्रभावित बनाएको थियो। हावाहुरीका कारण थुप्रै स्थानमा बिजुलीका पोलहरू भाँचिएपछि स्थानीय जनताले घन्टौं अन्धकारमा बिताउनु परेको थियो। यस्तो विकट परिस्थितिमा अध्यक्ष शाहीले दिनरात नभनी जनताको सेवामा आफूलाई समर्पित गरेका थिए।
उनले समस्या समाधानका लागि विद्युत प्राविधिक, प्राविधिकरणका कर्मचारी तथा सरोकारवालाहरूसँग समन्वय गर्दै मर्मत कार्यलाई तीव्र बनाए। रातभर प्राविधिकहरूसँग छलफल, स्थल निरीक्षण र सहजीकरण गर्दै जनतालाई छिटोभन्दा छिटो पुनः बिजुली आपूर्ति गर्न भरसक प्रयास गरे। अहिले माला खेतीदेखि ओलानीसम्म पुनः बिजुली प्रवाह सुचारु भइसकेको छ र यस कार्यका लागि स्थानीयहरूले अध्यक्ष शाहीप्रति प्रशंसा र विश्वास व्यक्त गरिरहेका छन्।
स्थानीयहरूले बताएअनुसार, शाही सदैव वडाबासीका समस्यामा अग्रपंक्तिमा उभिने नेताका रूपमा चिनिन्छन्। चाहे त्यो सडक मर्मत होस् वा खानेपानी, शिक्षा वा स्वास्थ्यको विषय—उनले कहिल्यै जनतालाई निराश हुन दिएका छैनन्। जनताको समस्या समाधान गर्नु नै आफ्नो धर्म र कर्म ठान्ने रविन्द्र शाहीको यो व्यवहारले उनलाई जनताको मनमा अझ गहिरो स्थान दिलाएको छ।
गुड्डु शाही एक युवा, जोशिलो र विचारशील नेतृत्वकर्ताका रूपमा उदाएका छन्। उनले वडाको समग्र विकास, आधारभूत सेवा प्रवाह र जनसरोकारका काममा विशेष प्राथमिकता दिँदै आएका छन्। उनी निरन्तर जनप्रतिनिधि मात्र नभई एक सेवकका रूपमा प्रस्तुत हुँदै आएका छन्।
स्थानीयवासीहरु भन्छन्, “हामीलाई यस्तै नेतृत्व चाहिएको हो। रविन्द्र शाहीजस्ता जनप्रतिनिधिको कारणले नै अहिले हामीले हावाहुरीपछिको विद्युत संकटबाट चाँडै मुक्ति पाएका छौं।”
प्राकृतिक विपत्तिका बेला जनताको पीडालाई आत्मसात् गर्दै उनले देखाएको सक्रियता, संकल्प र सेवा भावनाले आगामी दिनमा अन्य जनप्रतिनिधिहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने निश्चित देखिन्छ।