दुर्गालक्ष्मी नमुना माविका प्रधानाध्यापक जोशीको बिदाइ

अत्तरिया, कैलालीकाे अत्तरियास्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवराज जोशीको एक भव्य समारोहका बीच आइतबार बिदाइ गरिएको छ। ११ वर्षसम्म विद्यालयको नेतृत्व गरेका जोशी २०७१ सालदेखि प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

उनकै नेतृत्वकालमा विद्यालयले उल्लेखनीय प्रगति गरेको थियो। विशेषतः २०७४ सालमा दुर्गा लक्ष्मी माविलाई नेपाल सरकारद्वारा ‘नमुना माध्यमिक विद्यालय’को रूपमा मान्यता दिइएको थियो, जुन विद्यालयको इतिहासमा महत्वपूर्ण उपलब्धि मानिन्छ।

विद्यालय व्यवस्थापन समिति तथा शिक्षक-कर्मचारीहरूद्वारा आयोजित बिदाइ कार्यक्रममा जोशीको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो। कार्यक्रमको अवसरमा व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकहरूले पुष्पगुच्छा, अबिर र खादा ओढाएर सम्मान गरेका थिए।

जोशीको योगदानको स्मरण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भने, “उहाँको नेतृत्वमा विद्यालयले गुणस्तरीय शिक्षाको नयाँ उचाइ हासिल गरेको छ। उहाँको सेवाभाव र नेतृत्व क्षमताले विद्यालयको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।”

कार्यक्रम पश्चात विद्यालय परिवार र स्थानिय समुदायका प्रतिनिधिहरूको सहभागितामा बाजागाजासहित उनको घरसम्म बिदाइ गरिएको थियो।

शिवराज जोशीले २०४६ सालमा ग्वासी माध्यमिक विद्यालय, मालाखेतीबाट शिक्षण सेवा प्रारम्भ गरेका थिए। उनले २०६० सालमा प्रधानाध्यापकमा पदोन्नति प्राप्त गरेका थिए र त्यसपश्चात विभिन्न विद्यालयमा सेवा गर्दै आएका थिए।

उनको सेवा, निष्ठा र योगदानलाई विद्यालय परिवारले सदैव स्मरण गर्ने बताइएको छ। जोशीको बिदाइसँगै विद्यालयले अब नयाँ नेतृत्वको तयारी थालेको छ।

 

ताजा समाचार