विश्व प्रेस स्वतन्त्रता दिवस अत्तरियामा बिरामीलाई फलफुल वितरण गरेर मनाइयो

अत्तरिया, कैलालीको अत्तरियामा ३२ औं प्रेस स्वतन्त्रता दिवस मनाइएको छ । अत्तरिया क्षेत्रमा क्रियासिल पत्रकारहरुले ३२ औं प्रेस स्वतन्त्रता दिवस मनाएका हुन् ।
दिवसको अवसरमा अत्तरियामै रहेको पदमा अस्पताल र अत्तरिया अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य दिल बहादुर छत्यालले पत्रकारहरुले विविध चुनौतीहरुको सामना गर्नु परिरहेको बताए ।

गणतन्त्र स्थापनाका लागि पत्रकारहरुले उल्लेखनिय भूमिका निर्वाह गरेको भन्दै उनले देश संघिय लोकतान्त्रिक गणतन्त्रमा गइसकेपछि पनि समाचार लेखेकै कारण पत्रकारले धम्की र आक्रमण भोग्नुपर्ने अवस्था रहेको बताए।

“लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि नेपालका सञ्चारकर्मीहरुले लेखेर मात्रै होइन, सडकमै आएर संघर्ष गरे र देश आज संघिय लोकतान्त्रिक गणतन्त्रमा छ ।, उनले भने, यद्यपी यतिबेला पनि नेपालका श्रमजीवी पत्रकारहरुले भौतिक र पेशागत रुपमा चुनौतीको सामना गर्नु परिरहेको छ । धम्की र आक्रमण भोग्नुपर्ने र कार्यक्षेत्रमा खटिँदा ज्यानै गुमाउनु पर्ने कहाली लाग्दो अवस्थाको अन्त्य हुनुपर्छ ।”

नेपालको समग्र पत्रकारीता संकटबाट गुज्रिरहेको भन्दै उनले यि सबै समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए ।बलियो नयाँ युगमा रिर्पोटिङ–प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहित नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

यो अवसरमा नेपाल पत्रकार महासंघ लगायत पत्रकार तथा पत्रकारितासंग सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गरेका छन् । संयुक्त राष्ट्रसंघीय संगठन युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेको हो।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरणमा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो। संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेण्टी गरे पनि नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना भएका छन्।

 

ताजा समाचार