गोदावरीमा श्रमिक दिवस भव्य रूपमा सम्पन्न,श्रमिकलाई सम्मानसहित कदर

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकाले १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस बिहीबार विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। श्रमिकहरूको योगदानप्रति कृतज्ञता प्रकट गर्दै नगरपालिकाले सचेतना र सम्मानका विविध कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको संयोजन नगरपालिकाको रोजगारी सेवा केन्द्रले गरेको थियो भने निड्स नेपाल र मुक्त कमैया महिला विकास मञ्चको सहकार्यमा सफलतापूर्वक सम्पन्न गरिएको हो।

कार्यक्रम गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा नगर उपप्रमुख शारदा देवी रोकाया सहभागी थिइन्। कार्यक्रममा नगरका विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय निकायका कर्मचारी, सामाजिक अभियन्ता, श्रमिक समुदाय तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

श्रमिक दिवस विशेष समारोहको सुरुवात अत्तरियाको मुख्य बजार क्षेत्रबाट श्रमिकहरूको सहभागितामा आयोजित सचेतनामूलक र्‍यालीबाट गरिएको थियो। प्लेकार्ड, नाराबाजी तथा श्रमको सम्मानमा प्रस्तुत गरिएको गीत–सङ्गीतले नगरवासीको ध्यान आकर्षित गर्नुका साथै श्रमप्रतिको सकारात्मक सन्देश सम्प्रेषण गरेको थियो।

समारोहमा ‘१०० दिने रोजगार कार्यक्रम’ अन्तर्गत सक्रिय रूपमा श्रम प्रदान गरेका श्रमिकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरियो। त्यस्तै, स्थानीय स्तरमा श्रम अवसर प्रदान गर्दै आएका रोजगारदाता व्यवसायीहरूलाई समेत सम्मान गर्दै उनको योगदानप्रति कदर गरिएको थियो। वक्ताहरूले श्रमिकहरूको सामाजिक सुरक्षा, न्यायोचित पारिश्रमिक, अधिकार र दिगो रोजगारी सुनिश्चितताका पक्षमा आ–आफ्नो धारणा राखे।

कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले श्रमिकहरू राष्ट्र निर्माणको मेरुदण्ड भएको उल्लेख गर्दै नगरपालिकाले उनीहरूको हक–अधिकार सुनिश्चित गर्न निरन्तर प्रयासरत रहेको बताइन्। आगामी दिनमा श्रमिकमुखी थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले श्रमिकको आत्मसम्मान कायम राख्दै समावेशी विकासमा जोड दिइने बताइन्।

कार्यक्रमले श्रमिकहरूको मनोबल अभिवृद्धि गर्नुका साथै समाजमा श्रमको गरिमा र सम्मानबारे सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको प्रतिक्रिया थियो।

 

ताजा समाचार