तेस्रो गोदावरी नगर स्तरीय मेयर कप क्रिकेटको उपाधि आयोजक न्यू सितापुर युवा क्लबलाई

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका–१० स्थित अत्तरियामा आयोजित तेस्रो नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिम न्यू सितापुर युवा क्लब (ए) ले जितेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा अत्तरियाकै जिएसएम नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै आयोजक टिमले विजयी उपाधि उचालेको हो।

फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको जिएसएम नाइट राइडर्सले १४ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र ५० रनको न्यून स्कोर बनायो। विपक्षी बलरहरूको सशक्त प्रदर्शनको सामना गर्न नसक्दा जिएसएमका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। आयोजक टिमका बलर हरिसले ३ विकेट लिँदा मदन र पारसले २/२ विकेट लिएर प्रतिद्वन्द्वी टिमलाई धराशायी बनाए।

जवाफी ब्याटिङमा उत्रिएको न्यू सितापुर युवा क्लब (ए) ले ९।५ ओभरमै ३ विकेटको क्षतिमा ५१ रन जोड्दै लक्ष्य भेट्टायो। पारस शाहले अविजित १७ रन तथा टेक रावतले अविजित १५ रन बनाउँदै टोलीलाई सजिलो जित दिलाए। बलिङमा जिएसएम नाइट राइडर्सका विपिन धामीले २ र प्रवेश क्षेत्रीले १ विकेट लिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका आयोजक टिमका पारस शाह ‘म्यान अफ दी म्याच’ घोषित भए। उपाधिसँगै आयोजक न्यू सितापुर युवा क्लबले नगद रु। १ लाख १ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको जिएसएम नाइट राइडर्सले नगद रु। ५१ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका पारस शाह नै ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए र उनले नगद रु। २ हजार १०० प्राप्त गरे। त्यस्तै, सबैभन्दा बढी १६ विकेट लिएका जिएसएमका भोजराज भट्टराई ‘बेस्ट बलर’ घोषित भए भने मष्टाबण्डली युवा क्लबका अर्जुन पार्कीले २१४ रनको योगदान दिँदै ‘बेस्ट ब्याट्सम्यान’को उपाधि हात पारे। दुबै खेलाडीले नगद रु। १ हजार ५०० प्राप्त गरे।

त्यसैगरी, आयोजक टिमका सुमित पार्की ‘राइजिङ प्लेयर’ घोषित हुँदै नगद रु। १ हजार १०० प्राप्त गरे।

विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई बिहीबार एक भव्य तथा औपचारिक कार्यक्रमका बीच पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा न्यू सितापुर युवा क्लबका अध्यक्ष श्याम स्वाँरको सभापतित्व रहेको थियो। प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रविन्द्र शाही (गुड्डु) उपस्थित थिए भने विशिष्ट अतिथिमा वडा नं. ११ का वडाध्यक्ष प्रेम बडैला र वडा नं. १२ का वडाध्यक्ष भीम बहादुर खड्का रहेका थिए।

समापन समारोहमा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरियो। कार्यक्रमले सम्पूर्ण खेलाडीहरूमा उत्साह थपेको र स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धनमा टेवा पुर्‍याएको बताइएको छ।

 

ताजा समाचार