गेटा विश्वविद्यालय विधेयक संसदमा ल्याउन पहल गरिरहेको छु : सचिव भट्ट

अत्तरिया,नेकपा एमालेका सचिव लेखराज भट्टले सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक संसदबाट पारित गराउन निरन्तर पहल गरिरहेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको कार्यतालिकामा समावेश गरिएको विधेयक अन्तिम समयमा हटाइएको थियो। तर बुधवार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका पदाधिकारीहरूसँग छलफल गर्दै सचिव भट्टले विधेयक पुनः कार्यसूचीमा राखेर पास गराउने प्रयास जारी रहेको बताएका हुन्।

छलफलमा उनले प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च नेतृत्वलाई विधेयक सदनमा चाँडै पेस गर्न र विश्वविद्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको जानकारी दिए। “विधेयक आएपछि विश्वविद्यालय आफैं टिक्न सक्छ,” भट्टले भने, “यहाँको भूगोल विश्वविद्यालय सञ्चालनका लागि अत्यन्त उपयुक्त छ, बिरामी र विद्यार्थीको समेत कुनै अभाव हुँदैन।”

साथै, उनले गेटा क्षेत्रलाई समेटेर यस वर्षको नीति तथा कार्यक्रममा समेत विश्वविद्यालय समावेश गराउन पहल भइरहेको बताए। तर, उनले विश्वविद्यालय स्थापनामा अवरोध पुर्‍याउन केही व्यक्ति सक्रिय रहेको गुनासो गरे।

भेटका क्रममा सङ्घर्ष समितिका पदाधिकारीहरूले विधेयक रोक्ने प्रयास भई रहेकाले आवश्यकता परे दबाबमूलक कार्यक्रम गर्ने चेतावनी पनि दिएका थिए। समितिका संयोजक लोक राज पाण्डे (आगो) ले विधेयक पास गराउन क्षेत्रीय नेताहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए।

स्मरणीय छ, सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक २०८० माघ २९ गते राष्ट्रिय सभाबाट पारित भइसकेको थियो। तर प्रतिनिधिसभामा सोमबार पेस गर्ने कार्यतालिकामा रहे तापनि सम्बन्धित मन्त्री अनुपस्थित भएकाले सभामुखले विधेयक हटाएका थिए।

 

ताजा समाचार