पूर्व नगर प्रमुख हमालद्वारा आफ्ना सन्तान सरकारी विद्यालयमा भर्ना

अत्तरिया, कञ्चनपुरकाे कृष्णपुर नगरपालिकाका पूर्व नगर प्रमुख कर्ण बहादुर हमालले आफ्ना तीन सन्तानलाई स्थानीय महाकाली माध्यमिक विद्यालयमा भर्ना गराएका छन्। उनले सरकारी विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह गर्दै आफ्ना नानीहरूको भर्ना प्रक्रिया स्वयम् विद्यालय पुगेर सम्पन्न गरेका हुन्।

पूर्व मेयर हमालले भने, “महाकाली माध्यमिक विद्यालय दिनप्रतिदिन शिक्षाको क्षेत्रमा अब्बल बन्दै गएको छ। यहाँका दक्ष शिक्षक, गुणस्तरीय शिक्षा, उत्कृष्ट भौतिक संरचना र बस सेवा जस्ता सुविधाले विद्यार्थीहरूलाई सहज बनाएको देखेर मैले आफ्ना नानीहरू यहीं भर्ना गरें।”

उनले नगर प्रमुखको कार्यकालमा सरकारी विद्यालयहरूको अवस्था नजिकबाट अवलोकन गरेको स्मरण गर्दै भने, “पहिलो उदाहरण आफैंबाट प्रस्तुत गर्नुपर्छ। निजी विद्यालयमा आफ्ना बच्चा पढाउँदै अरुलाई सरकारी विद्यालय रोज्न सुझाव दिनु उचित हुँदैन।” हमालले सरकारी विद्यालयप्रतिको आम धारणा परिवर्तन गर्न आफ्नै उदाहरण प्रस्तुत गर्न चाहेको बताए।

नानीहरू भर्ना गराउँदा आफू अत्यन्त खुशी भएको बताउँदै हमालले विद्यालयमा शिक्षक र अभिभावकबीच अझ राम्रो समन्वय गरेर गुणस्तरीय शिक्षा प्रवाहमा ध्यान दिनुपर्नेमा जोड दिए।

महाकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमिन प्रसाद दहितले पूर्व मेयर हमालको निर्णयलाई सकारात्मक संकेतको रूपमा लिँदै भने, “पूर्व मेयरज्यूले आफ्ना सन्तानलाई निजी विद्यालयबाट सरकारी विद्यालयमा ल्याउनु सम्पूर्ण अभिभावकहरूका लागि प्रेरणादायी घटना हो। हाम्रो विद्यालयमा दक्ष शिक्षकहरू छन् र हामी निरन्तर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौं।”

महाकाली माध्यमिक विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्म अंग्रेजी माध्यममा तथा कक्षा ६ देखि माथि अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठन सञ्चालन हुँदै आएको विद्यालय प्रशासनले जानकारी गराएको छ।

विद्यालय दिनप्रतिदिन थप व्यवस्थित हुँदै गइरहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। यद्यपि, शिक्षकहरूको आन्दोलनकै बीच भर्ना अभियानलाई सक्रिय रूपमा अघि बढाइरहेको समितिले हालैको विज्ञप्तिमार्फत जानकारी गराएको छ।

समितिले सरकारसँग शिक्षकहरूका जायज मागप्रति शीघ्र ध्यान दिन र शिक्षा क्षेत्रको स्थायित्वका लागि सबै पक्ष गम्भीर भएर जिम्मेवारी बहन गर्न आग्रह गरेको छ।

 

ताजा समाचार