गोदावरी, कुनै समय विकटताको पर्याय बनेको साविकको गोदावरी गाविस अन्तर्गतको ओलानी गोदावरी -१२ क्षेत्रले अहिले दुर्गमता चिरेर विकासको नयाँ युगमा प्रवेश गरेको छ। अतीतमा सडक सञ्जाल नपुगेको यो क्षेत्रमा अहिले सरर पानीपिच गरिएको कालोपत्रे सडकले तीव्रता पाएको छ। बिरामीलाई काँधमा बोकेर धनगढी वा अत्तरियाका अस्पताल पुर्याउनुपर्ने बाध्यता अब इतिहास बनेको छ।
स्थानीयको भनाइअनुसार, पहिले अस्पताल लैजाँदै गर्दा बाटोमा बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था आउने गर्थ्यो। तर अहिले भने आधुनिक सडक र मोटरेबल पुलहरूले सवारी साधन सहज सञ्चालनमा आएसँगै ओलानी क्षेत्रबाट अत्तरिया तथा धनगढीका अस्पतालहरूमा छिटो र सुरक्षितरूपमा बिरामी लैजान सकिने भएको छ। विगतमा खोलानालाहरूले वर्षेनी जनधनको क्षति गराइरहेको थियो। अहिले भने वडा नं. १०, ११ र १२ का खोलाहरूमा मोटरेबल पुलहरू निर्माण भई स्थायी समाधान भएको छ।
खानेपानीको हकमा पनि यश क्षेत्रले उल्लेखनीय उपलब्धि हासिल गरेको छ। कुनै बेला महिलाहरूलाई मध्यरातमा उठेर कुलाबाट पानी भर्नुपर्ने बाध्यता थियो। समयमै पानी नभरे धमिलो हुने डरले बिहान सबेरै जाग्नु पर्ने अवस्था थियो। तर अहिले झण्डै २४ सय घरधुरीलाई शुद्ध खानेपानी सेवा उपलब्ध गराइएको छ।
स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार आएको छ। कुनै समय ओलानी क्षेत्र एचआइभी एड्स संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र मानिन्थ्यो। तर अहिले स्वास्थ्य सचेतनाको अभिवृद्धिसँगै यो चुनौती पनि घट्दै गएको छ। स्थानीयहरू अब स्वास्थ्यप्रति सचेत बनेका छन् र आधारभूत स्वास्थ्य सेवा पहुँचमा आएको महसुस गरेका छन्।
कृषि क्षेत्रमा पनि उत्साहजनक सुधार देखिएको छ। मोहना सिँचाइ आयोजनाले गति लिँदै क्षेत्रका किसानहरूलाई सिँचाइ सुविधा उपलब्ध गराएपछि कृषिमा उत्पादन वृद्धि भएको छ। गोदावरी नगरपालिका वडा नं. १२ का अध्यक्ष भीमबहादुर खड्काले यस क्षेत्रलाई बाख्रापालन र कुखुरापालनका लागि पकेट क्षेत्र घोषणा गर्न सके, स्थानीयको आर्थिक स्थिति अझै सुधारिने विश्वास व्यक्त गरेेका थिए।
विकासले तीव्र गति लिएसँगै ओलानी क्षेत्रबाट तेस्रो मुलुकतर्फ रोजगारीका लागि जानेको सङ्ख्या पनि बढेको देखिन्छ। पहिले भारतमा मजदुरी गर्न जाने प्रचलन व्यापक थियो, अहिले भने तेस्रो मुलुकमा अवसर खोज्ने क्रम तीव्र भएको छ।
विकासले ओलानीको अनुहार फेर्दै गर्दा केही क्षेत्रहरू जस्तै चापसल्ली अझै पनि केही हदसम्म पछि परेका छन्। वडा अध्यक्ष खड्काले बाँकी समस्याहरू पनि क्रमशः समाधान गर्दै लैजाने दाबी गरेका छन्। उनका अनुसार, २०७४ साल यता क्षेत्रले विकासको तीव्र गति लिएको समेत बताएका थिए ।
सडक सञ्जाल विस्तारका लागि चौकी डाँडा फाल्टुडे सडक आयोजनाले अझ बढी गति लिएपछि ओलानी क्षेत्रको भविष्य उज्ज्वल हुने अपेक्षा गरिएको छ। अध्यक्ष खड्काले भने, “अब ओलानी दुर्गम क्षेत्र रहेन, केही भूगोलले गर्दा पहाडी क्षेत्र रहला तर हाम्रो सपना चिरेर विकासको उज्यालो यात्रा सुरु भइसकेको दाबी समेत गरेका थिए।”
२०३०/४२ सालतिर पहाडी जिल्लाबाट बसाइँ सरेर आएको इतिहास बोकेको ओलानी, विकासका अवसरबाट पछि परेको थियो। तर अहिले स्थानीयहरूले विकासको मिठास अनुभूत गर्दै खुसी व्यक्त गरिरहेका छन्।