विद्यालय सञ्चालनसँगै पुस्तक व्यवसायमा फरकै पहिचान बनाएका अत्तरियाका तर्कराज भट्टराई

अत्तरिया, अत्तरियाको शैक्षिक क्षेत्र र पुस्तक व्यवसायमा एक उदाहरणीय व्यक्तित्वका रूपमा उदाएका छन् तर्कराज भट्टराई। दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा समर्पित रहँदै आएका भट्टराईले विद्यालय सञ्चालन र पुस्तक पसल व्यवसायलाई एकसाथ अघि बढाउँदै आएका छन्। उनको अथक मेहनत, समय व्यवस्थापन र सिर्जनशील सोचले अत्तरियामा नयाँ प्रेरणाको ढोका खोलेको छ।

भट्टराईले अत्तरियामा ‘सक्षम पाठशाला बोर्डिङ स्कुल’ सञ्चालनमा ल्याएका छन्। शिक्षा क्षेत्रमा आफूले संकलन गरेको अनुभव र दृष्टिकोणलाई विद्यालय व्यवस्थापनमा कुशलतापूर्वक प्रयोग गर्दै आएका उनी बिहान सबेरैदेखि पुस्तक पसलको तयारीमा जुट्छन्। पुस्तक पसलमा नयाँ तथा माग भएका पुस्तकहरू छन् वा छैनन् भन्ने कुरामा निरन्तर अनुसन्धान गर्ने उनको बानी छ। आवश्यकता अनुसार अत्तरियाका विभिन्न पसलहरू र धनगढीका प्रमुख पुस्तक डिपोहरूबाट पुस्तकहरू संकलन गर्नु उनको पहिलो प्राथमिकता रहन्छ।

पुस्तक व्यवसायसँगै शिक्षण पेशामा पनि उत्तिकै सक्रिय रहेका भट्टराईले बिहानको समय पुस्तक व्यवस्थापनमा बिताएपछि १० बजेदेखि ४ बजेसम्म पूर्णतः विद्यालय र विद्यार्थीहरूको शैक्षिक विकासमा केन्द्रित हुने गर्छन्। आफ्नो अनुशासन, समय व्यवस्थापन र कार्यदक्षताका कारण उनी विद्यार्थी, अभिभावक तथा सहकर्मीहरूमा लोकप्रिय छन्। मिनेट मिनेटको कदर गर्दै अघि बढ्ने उनको बानीले उनलाई अझ विशेष बनाएको छ।

भट्टराईको संघर्ष र निरन्तर क्रियाशीलताले विद्यार्थीहरूलाई पनि गहिरो प्रभाव पारेको छ। शिक्षा र व्यावसायिक क्षेत्रमा सँगसँगै काम गर्न सकिन्छ भन्ने उदाहरण स्थापित गर्दै उनले विद्यार्थीहरूलाई पनि पढाइसँगै सिर्जनात्मक सोच र आत्मनिर्भरतातर्फ लाग्न प्रेरणा दिएका छन्। उनले देखाएको बाटोले भविष्यमा शिक्षित युवाहरू स्वरोजगारमा लाग्न सक्ने मार्ग निर्देशन गरेको छ।

शिक्षण पेशा केवल किताबी ज्ञानमा सीमित नरही व्यावसायिक क्षेत्रसँग जोडिएर पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने दृष्टान्त भट्टराईले प्रस्तुत गरेका छन्। उनले आफूले सृजना गरेको रोजगारको अवसरले बेरोजगारीको समस्यासमेत सम्बोधन गर्ने दिशामा सानो तर महत्त्वपूर्ण योगदान दिएको छ।

भट्टराईको यो जोश, मेहनत र प्रतिबद्धता अत्तरियामात्र नभई समग्र गोदावरी क्षेत्रका शिक्षक, विद्यार्थी र अभिभावकहरूका लागि पनि प्रेरणादायी बनेको छ। उनको उदाहरणले देखाएको छ कि लगनशीलता, अनुशासन र सही दृष्टिकोण भए परिवर्तन असम्भव छैन। शिक्षण पेशासँगै आत्मनिर्भरता र व्यावसायिक चेतनाको समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने गहिरो सन्देश भट्टराईको जीवनकाे संघर्ष वास्तवमै सबैका लागि एक महत्वपूर्ण पाठ भनेको छ।

 

ताजा समाचार