अत्तरिया,कैलालीको अत्तरिया क्षेत्रमा तीव्र सहरीकरणको विस्तार भइरहेका बेला खानेपानीको समस्या गम्भीर बन्दै गएको छ। भूमिगत जलश्रोतमा निर्भर अत्तरिया साना सहरी खानेपानी संस्थाले हालसम्म ९ वटा बोरिङ गाडेको भए पनि अधिकांश बोरिङ धमिलो पानी आउन थालेपछि ५ वटासम्म बन्द गरिसकेको छ। बाँकी ४ वटा बोरिङबाट समेत अपेक्षित परिमाणमा पानी नआउँदा वितरणमा समस्या आइरहेको छ।
संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुका अनुसार हाल सञ्चालनमा रहेका बोरिङहरूबाट प्रतिसेकेन्ड १६ लिटर पानी आउनु पर्नेमा ९ देखि १० लिटर मात्रै प्राप्त भइरहेको छ। यस्तो अवस्थामा करिब ५ हजार ४ सय घरधुरीलाई नियमित रूपमा पानी वितरण गर्न कठिनाइ भएको बताएका थिए।
सङ्कटको दीर्घकालीन समाधानको खोजीमा संस्था गोदावरी–४ को गाजरी खोलाबाट पानी ल्याउने सम्भाव्यता अध्ययनमा जुटेको छ। पनेरुका अनुसार करिब २५ किलोमिटर टाढाबाट पाइपलाइनमार्फत पानी ल्याउन सके अत्तरियाको खानेपानी समस्याको समाधान सम्भव छ। यसबारे खानेपानी मन्त्रीलाई जानकारी गराउँदै प्रस्ताव पनि पेस गर्ने तयारी भइरहेको समेत उहाँले बताउनुभयो ।
हाल महरा कटान र बनदेवी मन्दिर क्षेत्रका ४ बोरिङमार्फत पानी वितरण भइरहेको छ भने दुईवटा ओभरहेड ट्याङ्की मार्फत वितरण प्रणाली सञ्चालनमा रहेको छ। तर ती ट्याङ्कीहरूको क्षमता जम्मा २४०७ घरधुरीका लागि मात्रै पर्याप्त छ। तीव्र शहरीकरणसँगै बढ्दो जनसङ्ख्याका कारण पानी आपूर्तिमा झनै चुनौती थपिएको संस्थाको भनाइ छ।
तेघरी र बनदेवी क्षेत्रमा ओभरहेड ट्याङ्की लगायतका संरचना निर्माणमा क्रमशः १० करोड र १३ करोड रुपैयाँ खर्च गरिएको भए पनि जलस्रोतमा भरपर्दो विकल्प नहुनु नै समस्याको मूल कारण बनेको हो। मौसम सुख्खा हुन थालेसँगै समस्या झन चर्किने गरेको र जलवायु परिवर्तन, वर्षाको असमानता तथा जनघनत्वमा भएको वृद्धिले पानीको दिगो व्यवस्थापन थप चुनौतीपूर्ण बनाइरहेको सरोकारवालाहरू बताउँछन्।