गर्भा, कैलालीको चुरे गाउँपालिका वडा नं. ४ स्थित गर्भा क्षेत्रमा नव निर्मित गर्भा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भव्य हस्तान्तरण तथा उद्घाटन समारोह आज सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, सामाजिक संस्थाका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको उक्त समारोह उत्साहपूर्ण रूपमा उद्घाटन गरिएको हो।
समारोहको अध्यक्षता चन्द्र बहादुर लामिछाने मगरले गर्नुभयो भने प्रमुख अतिथिमा चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी रहनुभएको थियो। विशिष्ट अतिथिका गाउँपालिकाका उपाध्यक्ष धना देवी थापा तथा आम्दा माइन्ड्सका कार्यक्रम संयोजक प्रदीप राज पन्तको उपस्थिति रहेको थियो। त्यस्तै, फाया नेपालका कार्यकारी निर्देशक शेर बहादुर बस्नेत र चुरे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र बिष्ट समेत अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुभएको थियो।
गर्भा आधारभूत स्वास्थ्य सेवा केन्द्रको उक्त भवन जापान सरकारको परराष्ट्र मन्त्रालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो। परियोजनाको नेतृत्व आम्दा माइन्ड्सले गरेको हो भने निर्माण कार्यको व्यवस्थापन फाया नेपालले सम्हालेको हो। यस परियोजना “मातृ तथा बाल स्वास्थ्य व्यवहार प्रवर्द्धन” कार्यक्रम अन्तर्गत चुरे गाउँपालिकाको समन्वयमा सञ्चालित गरिएको थियो।
भवन निर्माण कार्य २०८१ साल साउन १८ गते शुभारम्भ भई २०८२ साल वैशाख १० गते सम्पन्न भएको हो। कुल लागत एक करोड एघार लाख अठान्नब्बे हजार नौ सय उनान्नब्बे रुपैयाँ (रु. १,११,९८,९८९।–) रहेको यस भवनलाई औपचारिक रूपमा स्थानीय तहको स्वामित्वमा हस्तान्तरण गरिएको छ।
नयाँ भवनको निर्माणसँगै गर्भा क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच र गुणस्तरमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ। समारोहमा उपस्थित अतिथिहरूले मातृ तथा बाल स्वास्थ्य सुधारतर्फ यस परियोजनाले पुर्याउने योगदानका विषयमा प्रकाश पार्दै जापान सरकार, आम्दा माइन्ड्स, फाया नेपाल तथा चुरे गाउँपालिकाप्रति आभार व्यक्त गरेका थिए।
स्थानीय बासिन्दाहरूले नव निर्मित स्वास्थ्य केन्द्रप्रति हर्ष व्यक्त गर्दै यसबाट स्वास्थ्य सेवा थप सहज, सुरक्षित र प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।