गोदावरी-१० मा आजदेखि नगर स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु

 गोदावरी,कैलालीको गोदावरी नगरपालिका वडा नं १० स्थित सितापुर टोलमा आजदेखि नगर स्तरीय तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता सुरु भएको छ। न्यू सितापुर युवा क्लबको आयोजनामा कार्यक्रम क्लब अध्यक्ष श्याम स्वरको सभापतित्वमा सम्पन्न भयो भने प्रमुख अतिथि नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए।

उद्घाटन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं १ का अध्यक्ष गोपाल दत्त भट्ट, वडा नं ३ का अध्यक्ष तेजराज अवस्थी, वडा नं १० का अध्यक्ष रविन्द्र शाहीसहित स्थानिय जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगितामा १० वटा टिम सहभागी छन्। विजेता टिमले रु. १ लाख ११ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमलाई रु. ५१ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बिरेन्द्र भट्टले खेलाडीका हक हितका विषयमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले खेलाडीको भविष्य निर्माणका लागि आवश्यक संरचना र पूर्वाधार विकासमा नगरपालिकाले प्राथमिकता दिने उल्लेख गरे। “युवा पुस्ता अनुशासन, स्वास्थ्य र नेतृत्व क्षमताको विकास खेलमार्फत् गर्न सक्छन्। त्यसैले खेल मैदानको व्यवस्थापन, स्तरीकरण र नियमित प्रतियोगिताको आयोजना हाम्रो प्रमुख योजना हो,” भट्टले भने।

नगर प्रमुखले सितापुर टोलमा रहेको खेल मैदानलाई स्तरीय बनाउँदै आवश्यक सुविधा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले खेलाडीलाई सहयोग गर्न समुदाय, अभिभावक र संस्थालाई समेत आह्वान गरे। प्रतियोगिताले गोदावरी नगरको खेलकुद विकासमा थप ऊर्जा थप्ने विश्वास गरिएको छ, जहाँ युवालाई सकारात्मक मार्गमा अग्रसर गराउन नगरपालिका दृढ देखिएको छ।

 

ताजा समाचार