मंगलबार प्रस्तावित दुवै जग्गाको अवलोकन गर्न मन्त्री सहित अर्थ राज्य मन्त्री प्रकाश बम, प्रदेश सभा सदस्य तुलसी देवकोटा, खेमादेवी विष्ट, जानकी कुँवर पौडेल, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट, जग्गा खोज्न बनेको कार्यदलका संयोजन गोपाल दत्त भट्ट, कार्यदलका सदस्य लोकराज पाण्डे (आगो), नेकपा एमालेका वडाध्यक्ष तथा कार्यदल सदस्य मानबहादुर बलायर र चाहना सामुदायिक वनका अध्यक्ष भीम बिक लगायतको सहभागिता रहेको थियो ।
नगरप्रमुख भट्टले डीडीसीका लागि हालको जग्गा पर्याप्त नभएकाले आवश्यक जग्गाको गोदावरी क्षेत्रमै व्यवस्था गर्न आफूहरू तयार रहेको बताए । उनले यहाँ जग्गा अभाव भएको भन्दै रातारात सार्ने कुरा भने सह्य नहुने बताए । ‘हामीले डीडीसी पनि यहाँ रोक्नुपर्छ । डीडीसी सँगै ४० करोडको मिल्क पाउडर प्लान्टको प्रोजेक्ट पनि यही स्थापना हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’ उनले भने ‘हामीलाई वनले जति जग्गा चाहिन्छ दिन्छु भन्नु भएको छ । त्यो प्राप्त गर्नको लागि हामी प्रयत्न गर्ने छौ । सकेसम्म हामी डीडीसीलाई यहाँ रोक्ने प्रयत्न गर्ने छौ ।’
जग्गा खोज्न बनेको कार्यदलका सदस्य लोक राज पाण्डे (आगो) ले डीडीसीका आयोजना प्रमुखले स्थानीय सँग समन्वय नै नगरी सुटुक्क धनगढी उपमहानगरपालिका – १५ मा रहेको जडीबुटी प्रशोधन केन्द्रमा सार्ने तयारी गरेको भन्दै त्यसलाई जुनसुकै हालतमा पनि रोक्नुपर्ने बताए ।
अत्तरियाबाट डीडीसी सार्ने तयारी गरिएपछि गत वर्ष पुस १६ गते गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा खोज्न कार्यदल गठन गरिएको थियो । उक्त समितिले चाहना सामुदायिक वन र दिव्य रोजिनको प्रयोगमा नरहेको करिब २ बिगाहा ८ कट्टा जग्गामा डीडीसी र मिल्क पाउडर प्लान्ट राख्ने प्रस्ताव गरेको छ ।
डीडीसी र मिल्क पाउडर प्लान्ट गोदावरीमा राख्न माग गर्दै चैत १८ गते कार्यदल र यस क्षेत्रका प्रदेश सभा सदस्यले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई पनि ज्ञापन पत्र बुझाएका थिए ।