गोदावरीमा प्रमुख प्रशासकीय अधिकृत बिनाडी र लेखा प्रमुख भट्टलाई स्वागत

अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडी र लेखा शाखा प्रमुख प्रकाश भट्टलाई नगरपालिकाका तर्फबाट भव्य स्वागत गरिएको छ। उपसचिवस्तरका अधिकारी रहेका बिनाडीलाई नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरू, जनप्रतिनिधिहरू तथा कर्मचारीहरूले खादा र फूलमालासहित औपचारिक रूपमा स्वागत गरेका छन् ।

नगर सभाहलमा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले प्रमुख प्रशासकीय अधिकृत बिनाडीको कार्यकाल सफल होस् भन्ने शुभकामना व्यक्त गरे। उनले बिनाडीको प्रशासनिक अनुभव, कार्यक्षमता र नेतृत्व शैलीले नगरको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त समेत गरेका थिए।

“सफल प्रशासनिक सञ्चालनका लागि समन्वय र सहकार्य अपरिहार्य छ,” नगर प्रमुख भट्टले भने, “हामी एकीकृत रूपमा काम गरेर नगरवासीका आवश्यकताहरू सम्बोधन गर्न प्रतिबद्ध छौं,उनले भने।”कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरूले समेत नवनियुक्त प्रशासकीय अधिकृतप्रति विश्वास व्यक्त गर्दै नगरको प्रशासनिक सेवा प्रवाह, विकास योजनाको कार्यान्वयन, वित्तीय अनुशासन तथा जनसरोकारका विषयमा थप प्रभावकारिता देखिने अपेक्षा राखेका थिए।

प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले आफूमाथि आएको जिम्मेवारीलाई इमान्दारी, पारदर्शिता र कर्तव्यनिष्ठाका साथ निभाउने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय सरकार, जनप्रतिनिधि तथा कर्मचारीहरूसँग हातेमालो गर्दै नगर विकासको मार्गमा अगाडि बढ्ने समेत बताए। कार्यक्रममा लेखा शाखाका नवनियुक्त प्रमुख प्रकाश भट्टलाई पनि विशेष सम्मानसहित स्वागत गरिएको थियो।

 

ताजा समाचार