लोटस आई अंग्रेजी माध्यमिक विद्यालय फेरि एकपटक नगरस्तरीय परीक्षामा उत्कृष्ट

गोदावरीकैलालीको गोदावरी नगरपालिका–२ मा अवस्थित लोटस आई अंग्रेजी माध्यमिक विद्यालयले कक्षा ८ को २०८१ सालको नगरस्तरीय वार्षिक परीक्षामा पुनः आफ्नो शैक्षिक उत्कृष्टता प्रमाणित गरेको छ।

उक्त परीक्षामा नगरका ५९ वटा विद्यालय सहभागी रहेका थिए, जसमा लोटस आईका दुई विद्यार्थी-भगवती कुमारी चन्द र हरिश भट्टले ४.०० GPA ल्याउन सफल भएका छन्। यस सफलताले विद्यालयको शिक्षण पद्धति र विद्यार्थीको परिश्रमलाई थप उजागर गरेको छ।

गत वर्ष २०८० को नगरस्तरीय परीक्षामा पनि यही विद्यालयका विनोद बोहराले ४.०० GPA ल्याएर विद्यालयको नाम अग्रपङ्तिमा राखेका थिए। यस वर्ष फेरि दुई जना विद्यार्थीले सोही उपलब्धि दोहोर्याउनु विद्यालयको निरन्तर शैक्षिक समर्पण र गुणस्तरीय शिक्षणको प्रतिबिम्ब मानिएको छ।

परीक्षामा सहभागी भएका ७३ विद्यार्थीमध्ये २६ जनाले A+ ग्रेड, ३६ जनाले A ग्रेड तथा १० जनाले B+ ग्रेड हासिल गरेका छन्। एक जना विद्यार्थी ग्रेड सुधार परीक्षामा रहेका छन्।

विद्यालयका प्राचार्य मान बहादुर ऐरले उक्त उपलब्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्दै आगामी सत्रहरूमा अझ उत्कृष्ट नतिजा ल्याउने दृढता व्यक्त गर्नुभएको छ।

विद्यालयले हाल शैक्षिक सत्र २०८२ का लागि PG देखि कक्षा ९ सम्मका नयाँ भर्ना खुला गरेको जानकारी दिएको छ। साथै, नव वर्ष २०८२ को अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक, विद्यार्थी तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै नयाँ वर्षको शुभकामना समेत व्यक्त गरिएको छ।

 

ताजा समाचार