अत्तरिया, कैलालीकाे दुर्गालक्ष्मी बहुमुखी क्याम्पस, अत्तरियामा चैत २७ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको चहलपहल तिव्र बन्दै गएको छ। विभिन्न विद्यार्थी संगठनका उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएको सन्दर्भमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का तर्फबाट सभापतिमा भुवन महरा उम्मेदवारी दिएका छन्।
उनी क्याम्पसका चर्चित र लोकप्रिय विद्यार्थी नेताका रूपमा परिचित छन्। विद्यार्थीबीच बलियो पकड बनाएका महरा यसअघि स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएर एक कार्यकाल सफलतापूर्वक निर्वाह गरिसकेका अनुभवी उम्मेदवार पनि हुन्।
महराले आफ्नो उम्मेदवारीको औपचारिक घोषणासँगै निर्वाचन अभियान तिव्र बनाएका छन्। “हामी हिजोको नेविसंघको गौरवपूर्ण विरासतलाई सम्हाल्ने र अझ उचाइमा पुर्याउने प्रतिबद्धतासाथ मैदानमा छौं,” महराले बताए।
उनले आफ्ना प्रतिद्वन्द्वी अखिल संयुक्त संगठनलाई लक्षित गर्दै भने, “उनीहरूको रणनीति नेविसंघको पहिचान मेटाउने प्रकारको छ, त्यसैले कुनै हालतमा तिनीहरूले जित हासिल गर्न सक्दैनन्। हामी नै जित्छौं भन्नेमा पूर्ण विश्वास छ।”
महराको प्यानलले क्याम्पसमा रहेको व्यवस्थापकीय कमजोरीलाई सुधार गर्ने, विद्यार्थीका हकअधिकार सुनिश्चित गर्ने र शैक्षिक गुणस्तरमा सुधार ल्याउने एजेन्डा लिएर चुनावी प्रचार गरिरहेको छ। “हामी विद्यार्थीका समस्या बुझ्छौं र समाधानका लागि प्राथमिकतामा राख्छौं,” महराले बताए।
अखिल संयुक्तका तर्फबाट सभापतिमा बमबहादुर विक उम्मेदवार रहेका छन्। उनी पनि प्रचार-प्रसारमा सक्रिय देखिएका छन्। यद्यपि, महरा पक्षको विश्वास छ – विद्यार्थी मतदाता विगतको अनुभव, प्रतिबद्धता र नेतृत्व क्षमताका आधारमा निर्णय लिनेछन्।
निर्वाचन नजिकिँदै जाँदा दुर्गालक्ष्मी क्याम्पसमा विद्यार्थी राजनीति गर्मिएको छ र उम्मेदवारहरूको दौडधुप चुलिएको छ। अब मतदाताले कसलाई नेतृत्व सुम्पिन्छन् भन्ने कुरा चैत २७ गते स्पष्ट हुनेछ।