अत्तरिया, कैलालीकाे अत्तरियास्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरी स्वर्ण जयन्ती महोत्सवको तयारी पूरा गरेको छ। मंगलबार पत्रकार सम्मेलनमार्फत विद्यालय व्यवस्थापन समितिले उक्त जानकारी दिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहका अनुसार स्वर्ण जयन्तीको अवसरमा आगामी चैत २७ गतेबाट तीन दिने विविध कार्यक्रमसहितको भव्य महोत्सव आयोजना गरेको बताउनु भयाे। प्रभातफेरीसहित सुरु हुने महोत्सवमा विज्ञान प्रदर्शनी, प्यानल डिस्कसन, म्याराथन, स्वर्ण स्तम्भ उद्घाटन, मार्चपास तथा सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ। साथै, विद्यालयका संस्थापक व्यक्तित्वहरूलाई सम्मानसमेत गरिनेछ।
स्थापनाको पाँच दशक पार गरेर ५१ औं वर्षमा प्रवेश गर्न लागेको दुर्गालक्ष्मी विद्यालयले हजारौं विद्यार्थी उत्पादन गर्दै शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याएको छ।
गोदावरी क्षेत्रमै शैक्षिक विकासको नयाँ इतिहास बनाउँदै आएको यस विद्यालयले गुणस्तरीय शिक्षामार्फत समाजमा योग्य व्यक्तित्वहरू उत्पादन गर्दै आएको छ। एउटा सरल स्वभाव भएका व्यक्तित्व युवा नेताले दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालय हाकिरहेको उदाहरणय काम पनि हो। यो विद्यालयको अध्यक्ष भएर आइसकेपछि विद्यालयका प्रशासनीय कुरादेखि लिएर विद्यालयको आर्थिक र भौतिक क्षेत्रमा उल्लेखीय सुधार हुँदै आएको समेत देखिन्छ।
विद्यालयकै पूर्व विद्यार्थीसमेत रहेका अध्यक्ष गणेश शाहले विद्यालयको स्वर्ण जयन्तीलाई स्मरणीय बनाउन व्यापक तयारी गरिएको बताए। उनले भने, “मैले यही विद्यालयबाट अध्ययन सुरु गरें, अहिले स्वर्ण जयन्ती मनाउने अवसर पाउनु गर्वको कुरा हो। यो विद्यालयप्रतिको मेरो माया र प्रतिबद्धताको प्रतीक रहेको समेत उनले बताएका थिए।”
कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँद्वारा गरिने तय भएको शाहले जानकारी दिए। कार्यक्रमलाई भव्य, सभ्य र ऐतिहासिक बनाउन विद्यालयका शिक्षक, अभिभावक, पूर्व विद्यार्थी, स्थानीय निकाय तथा समुदायका विभिन्न निकायहरू जुटेका छन्।
दुर्गालक्ष्मी विद्यालयको यो स्वर्ण महोत्सवले शैक्षिक क्षेत्रको उज्यालो अनुहार देखाउने विश्वास गरिएको छ। आयोजकहरूका अनुसार महोत्सवपछि विद्यालयको योजनाहरू पनि सार्वजनिक गरिनेछ।