दुर्गालक्ष्मी क्याम्पसमा स्ववियु चुनाव : विद्यार्थीहरू मतदान अधिकारप्रति सजग

अत्तरिया, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा यही चैत्र २७ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर विद्यार्थीहरूमा चासोको लहर छ। विभिन्न विद्यार्थी संगठनहरूबाट उठेका उम्मेदवार प्यानलहरूले जितको दाबी गर्दै आ–आफ्नो पक्षमा माहोल बनाउन क्याम्पसमै संवाद र प्रचार अभियान तीव्र बनाएका छन्।

नेविसंघका सभापति उम्मेदवार भुवन महराको प्यानलका समर्थक यशोदा भट्ट, लक्ष्मी डैडी, मञ्जु महरा र भीम खड्काले आफ्नो समूह अत्यधिक बहुमतका साथ विजयी हुनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। उनीहरूले विद्यार्थीहरूको भावना र समर्थन आफूहरूकै पक्षमा रहेको उल्लेख गर्दै क्याम्पसको नेतृत्व योग्य र सक्षम व्यक्तिका हातमा सुम्पनुपर्ने आवश्यकता औंल्याएका छन्।

त्यसैगरी, अखिल (क्रान्तिकारी) निकट संयुक्त प्यानलका सभापति उम्मेदवार बमबहादुर बिकका समर्थक योनजा पाठक, सरिता पन्त, हिक्मत साउद र दुर्गा बमले समेत आफ्ना उम्मेदवारहरू जित्ने कुरामा आशावादी रहेको बताएका छन्। उनीहरूको भनाइमा, विद्यार्थीहरूले यसपटक विवेकपूर्ण निर्णय गर्दै भविष्यको नेतृत्व चुन्ने सोच बनाएका छन्।

सर्वेक्षणहरूका आधारमा हेर्दा यसपटकका मतदाताहरू पार्टी वा संगठनभन्दा बढी नेतृत्वको क्षमता र व्यवहारलाई प्राथमिकतामा राखेर निर्णय गर्न चाहन्छन्। विशेषगरी स्वतन्त्र र तटस्थ समूहका विद्यार्थीहरूले आफ्नो मत कसलाई दिने भन्नेबारे प्रष्ट नभए पनि अन्तिम निर्णय मतदानकै दिन गर्ने बताएका छन्। उनीहरूको भूमिका निर्णायक हुने देखिन्छ।

तर अर्कोतर्फ, क्याम्पसमा हालै देखिएको अस्वाभाविक गतिविधिले निर्वाचन प्रक्रियामा प्रश्न खडा गरिरहेको छ। केही विद्यार्थीहरूले बाहिरी व्यक्तिहरूको उपस्थितिले क्याम्पसको स्वतन्त्र वातावरणमा खलल पु¥याएको गुनासो गरेका छन्। “हामीले कहिल्यै नदेखेका व्यक्तिहरू आएर विद्यार्थी मतदातामाथि दबाब सिर्जना गरिरहेका छन्, यो अस्वीकार्य हो,” एक विद्यार्थीले भने।

उनीहरूका अनुसार यस्ता गतिविधिहरूले स्ववियु निर्वाचनको सार र उद्देश्यमै आघात पुर्याउने खतरा छ। विद्यार्थीहरूले आफूहरू योग्य उम्मेदवार छान्ने अधिकार राख्छन् र कुनै पनि किसिमको दबाबविना आफ्नो विवेक अनुसार निर्णय गर्न पाउनुपर्ने आवाज उठाइरहेका छन्।

दुर्गालक्ष्मी क्याम्पसको नेतृत्व चयनका लागि भइरहेको यो निर्वाचन न केवल संगठनबीचको प्रतिस्पर्धा बनेको छ, तर यो भविष्यको नेतृत्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा विद्यार्थीहरूकै चेतनशीलताको पनि परीक्षा बन्न गएको छ।

 

ताजा समाचार