राष्ट्रिय युवा संघ नेपाल लालझाडीको दोस्रो अधिवेशन सम्पन्न,चौधरी पुनः अध्यक्षमा चयन

अत्तरिया, कञ्चनपुरकाे राष्ट्रिय युवा संघ नेपाल, लालझाडी गाउँपालिका समितिको दोस्रो अधिवेशन भव्य र सर्बसम्मत रूपमा सम्पन्न भएको छ। अधिवेशनले दोस्रो कार्यकालका लागि हिकिम चौधरीलाई पुनः अध्यक्ष पदमा चयन गरेको छ भने उपाध्यक्षमा योगेश धामी, सचिवमा महेश रानासहित २१ जना सदस्यहरू पनि सर्बसम्मत निर्वाचित भएका छन्।

लालझाडी गाउँपालिकामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निर्मल राना रहेका थिए। कार्यक्रममा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पार्टीको सिद्धान्त र विचारलाई युवामाझ प्रभावकारी रूपमा विस्तार गर्न कार्ययोजना प्रस्तुत गरेको छ। संगठनले देशभरका विभिन्न पालिकामा युवाहरूको सहभागिता सुनिश्चित गर्दै कमिटी निर्माण र अधिवेशनलाई पहिलो प्राथमिकतामा राखेर अघि बढिरहेको जनाएको छ।

अधिवेशनमा राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष दिनेश बिष्ट, पूर्व केन्द्रीय सदस्य विवेक भट्ट तथा जिल्ला सचिवालय सदस्य राजु नाथको उपस्थिति रहेको थियो। उनीहरूले संगठनको आगामी रणनीति, युवा परिचालन, र पार्टी घेराबन्दीविरुद्धको रक्षात्मक रणनीतिबारे प्रशिक्षण समेत दिएका थिए।

कार्यक्रममा युवाहरूमाझ राष्ट्रिय युवा संघ नेपालको भूमिका, दायित्व तथा संगठनलाई मजबुत बनाउने विषयमा विशेष छलफल भएको थियो। सहभागीहरूले संगठनप्रतिको प्रतिबद्धता दोहोर्‍याउँदै आगामी दिनमा युवालाई नेतृत्वदायी भूमिकामा उभ्याउने लक्ष्य लिएको बताए।

अधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि नयाँ कार्यसमिति चयनसँगै संगठनले लालझाडी क्षेत्रमा युवाको सशक्तिकरण र राजनीतिक चेतनाको विकासमा थप योगदान पुर्‍याउने अपेक्षा समेत राखेकाे छ।

कार्यक्रममा सहभागी वक्ताहरूले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिकालाई अझ सक्रिय र जिम्मेवार बनाउनु पर्ने आवश्यकता औंल्याउँदै, संगठनात्मक एकता र दृढता कायम राख्दै अघि बढ्न आह्वान गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालले युवा शक्ति नै परिवर्तनको मूल आधार हो भन्ने सन्देश दिंदै लालझाडी गाउँपालिकामा सम्पन्न दोस्रो अधिवेशनलाई ऐतिहासिक सफलताको रूपमा लिएको छ।

 

ताजा समाचार