कम्युनिस्ट आन्दोलनका जीवित पुस्ता : हरिशंकर योगी

कैलालीको चुरेबाट उदाएका क्रान्तिकारी नेताको जीवनयात्रा / अत्तरिया, नेकपा एमालेका एक संघर्षशील, निष्ठावान् र क्रान्तिकारी नेता हुन् हरिशंकर योगी। सरल स्वभाव, उच्च मनोबल र दृढ सङ्कल्प भएका व्यक्तित्वका रूपमा चिनिने योगी हाल कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ६, फल्टुनी बगैचुलामा स्थायी बसोबास गर्दै आइरहेका छन्। नेपाली कम्युनिस्ट आन्दोलनको पाँच दशक लामो यात्रामा सक्रिय योगदान दिँदै आएका योगी २०२८ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए।

योगीलाई राजनीतिमा प्रवेश गराउने प्रेरणाको स्रोत पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, रामेश्वर राईजस्ता तत्कालीन क्रान्तिकारी नेताहरू थिए। उनी २०२६ सालमै नेकपा समाजवादीमा आवद्ध भई पार्टीको संगठन विस्तारमा जुटे। २०३८ देखि २०४१ सालसम्म भूमिगत जीवन बिताएका योगी २०४२ सालमा बम काण्डको आरोपमा पक्राउ परी कैलाली कारागारमा ६ महिनासम्म कैदमा परे। उनले जेल जीवनमा पनि मार्क्सवादी चिन्तनमा केन्द्रित रहेर अध्ययन तथा साथीहरूसँग वैचारिक बहस जारी राखे।

२०४९ सालमा एकता पछि नेकपा (एमाले) भित्र महाकाली अञ्चल सदस्यको रूपमा नियुक्त भएका योगी २०६४ सालमा पहिलो संविधानसभा सदस्यको उम्मेदवार पनि बने। हाल उहाँ नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य रहनुभएको छ। क्रान्तिकारी विचारधारामा समर्पित योगी १० वर्षीय जनयुद्धको समयमा पनि आफ्ना घरमा विभिन्न क्रान्तिकारी किताबहरू राखेर अध्ययन गर्थे। उहाँको घर माओवादी लडाकूहरूको पुस्तकालयसरह थियो। उनीहरू वहाँकै घरमा पुगेर पुस्तक मागेर अध्ययन गर्थे भन्ने विवरणहरू भेटिन्छन्।

योगी कम्युनिस्ट आन्दोलनका जीवित दस्तावेजमात्र होइनन्, उनले राजनीतिलाई जीवनको अभिन्न अङ्ग बनाएका छन्। राजनीति कुनै व्यापार होइन, निरन्तर प्रयास र निष्ठाबाट मात्र परिवर्तन सम्भव छ भन्ने दृढ विश्वास राख्ने योगी अझै पनि आफ्नो वडा, नगर तथा जिल्ला स्तरका पार्टी गतिविधिमा सक्रियरूपमा सहभागी रहन्छन्। विद्यार्थी आन्दोलनको क्रममा नजरबन्दमा परेका योगी राजनीतिमा कहिल्यै विचलित भएनन्।

उनले प्रायः भन्ने गर्छन्, “आफू मात्र बन्नु ठूलो कुरा होइन, अरू नेताहरू बनाउनु पनि ठूलो योगदान हो।” यही सोचले उनले युवालाई प्रशिक्षण, मार्गदर्शन र राजनीतिक चेतनाको विकास गर्न सदैव अग्रसर भूमिका खेलेका छन्। पुष्पलाल, मनमोहन अधिकारी जस्ता युगपुरुषहरूबाट प्रशिक्षण प्राप्त गरेका योगी अहिले पनि आफूले गरेका संघर्ष, आन्दोलन र सैद्धान्तिक सोचका कथाहरू साथीहरूलाई सुनाउँछन्।

शारीरिक रूपमा केही कमजोर देखिए पनि मानसिक रूपमा अझै युवासमान दुरदर्शी र सक्रिय रहेका योगीले आफूले भोगेका राजनीतिक संघर्ष, जीवनका भोकाइ र विचारहरूको समग्र दस्तावेज बनाएर नयाँ पुस्तक निकाल्ने तयारीमा छन्। आफ्नै कोठा कम्युनिस्ट चिन्तकका पुस्तकहरू, संघर्षको चित्र र विचारसंगत संवादद्वारा सजाएको योगीको निवास अध्ययनका लागि खुला पाठशालाजस्तै देखिन्छ। वहाँ आउने पाहुनाहरू ती पुस्तकहरू, तस्बिरहरू र योगीका जीवित स्मरणहरूबाट समकालीन इतिहास बुझ्ने मौका पाउँछन्।

झन्डै ७५ वर्ष पुगिसकेका हरिशंकर योगीको राजनीतिक यात्रा साँचिकै प्रेरणादायी छ। उनमा रहेको क्रान्तिकारी जोश, विचार र योगदानका कारण कैलालीको चुरे क्षेत्रका जनताले उहाँलाई एक अभिभावकका रूपमा लिने गर्छन्। नेपाली कम्युनिस्ट आन्दोलनका आधारस्तम्भहरूमध्ये एक मानिने योगी आज पनि युवाहरूलाई क्रान्तिको महत्व, संगठनको मूल्य र सैद्धान्तिक स्पष्टता सिकाइरहेका छन्। उहाँको राजनीतिक यात्राले आगामी पुस्तालाई पनि प्रेरणा दिनेछ भन्नेमा कुनै शंका छैन।

कम्युनिष्ट आन्दोलनको लामो यात्रामा दृढ सङ्कल्प, उच्च मनोबल र सरल स्वभावका साथ अगाडि बढ्दै आएका हरिशंकर योगी कैलालीको मात्रै होइन, सम्पूर्ण सुदूरपश्चिमको राजनीतिक धरोहर मानिन्छन्।

हरिशंकर योगी साँचिकैमा नेपाली कम्युनिस्ट आन्दोलनका जीवित दस्तावेजसँगै कम्युनिस्ट आन्दोलनको जीवित संग्रहालय जस्तै देखिन्छ। जुन हरिशंकर योगी विचार, सङ्घर्ष र प्रतिबद्धताको एक उदाहरण हुन्, जसले देखाउँछन् कि विचार र सङ्घर्ष कहिल्यै बिर्सनु हुँदैन, किनभने त्यसले नै इतिहास बनाउँछ। भन्ने विषयमा विश्वस्त देखिने एक व्यक्ति  उहाँ हुन्।

 

ताजा समाचार