अत्तरिया, कैलालीकाे गोदावरी नगरपालिका-१० का वडाध्यक्ष रविन्द्र शाही ‘गुड्डु’ले आफ्नो दोस्रो कार्यकाललाई पूर्ण रूपमा जनताको अपेक्षा र आवश्यकताअनुसार समर्पित गर्दै वडा विकासको गति तीव्र बनाएका छन्।
पहिलो कार्यकालमै पारदर्शी कार्यशैली र प्रतिबद्धताको कारण जनविश्वास जितेका शाही दोस्रो कार्यकालमा झनै सक्रिय भएका छन्। उनको नेतृत्वमा अहिले वडामा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, ढल व्यवस्थापन, स्मार्ट बत्ती, सरसफाइ, खुला स्थान संरक्षण तथा पार्क निर्माणजस्ता पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति भएको स्थानीयवासीहरू बताउँछन्।
वडावासीहरूका अनुसार शाहीले विकासलाई प्रचारको विषय नबनाई परिणाममुखी बनाएका छन्। “विकास कुनै प्रचारको विषय होइन, म परिणाममै विश्वास राख्छु,” वडाध्यक्ष शाहीले बताए। उनले जनताको जीवनस्तरमा प्रत्यक्ष असर पार्ने योजनाहरूलाई प्राथमिकता दिएको जानकारी दिए।
उनको काम गर्ने शैली स्पष्टता, जवाफदेहिता र जनसहभागितामा आधारित छ। योजना छनोटदेखि कार्यान्वयनसम्म युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ, जसले दीर्घकालीन र दिगो विकासलाई सघाएको छ।
हाल वडा नं. १० लाई व्यवस्थित, सुरक्षित र समृद्ध बनाउने दीर्घकालीन दृष्टिकोणअनुसार पूर्वाधार विस्तार तीव्र गतिमा भइरहेको छ। अधिकांश टोलहरूमा ढल, नाली, बाटो, तथा बत्ती जस्ता आधारभूत संरचनाहरू निर्माण हुँदै गएका छन्।
शाहीको नेतृत्वमा गोदावरी-१० अत्तरिया क्षेत्रमै अनुकरणीय वडा बनेको छ। योजनाको प्रारम्भदेखि अन्त्यसम्म जनताको चासो र सुझावलाई समावेश गर्नु उनको नेतृत्वको मुख्य विशेषता बनेको छ।
त्यसैले पनि वडा नं. १० सुदूरपश्चिमकै उत्कृष्ट नमुना वडाका रूपमा नजिकको भविष्यमा स्थापित हुनेमा वडावासी आशावादी देखिन्छन्। रविन्द्र शाहीको योजनाबद्ध, समर्पित र उत्तरदायी नेतृत्वले विकासको एउटा नयाँ सम्भावनाको ढोका खोलिदिएको छ।