अत्तरिया, डडेलधुराकाे परशुराम नगरपालिका वडा नम्बर ३ स्थित जनज्योति प्राथमिक विद्यालय सिमल्टाले विद्यालयलाई जग्गा दान गर्ने जमिनदाता जयदेव धामीलाई विशेष सम्मान गरेको छ। विद्यालय स्थापनाको आधारशिला स्वरूप २०४४ सालमा आफ्नो मूल्यवान जमिन दान गर्ने धामीलाई सम्मान गर्नु समाजका लागि प्रेरणादायी सन्देश भएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।
विद्यालय स्थापनाका लागि उपयुक्त स्थान खोज्न कठिनाइ भइरहेका बेला जयदेव धामीले उदार मनले विद्यालयलाई जग्गा दान गरेका थिए। अहिले विद्यालय कक्षा ५ सम्मको पठनपाठनका लागि सहज भएको छ भने खेलमैदानका लागि पनि पर्याप्त स्थान मिलेको छ। धेरै विद्यालयहरू भौतिक पूर्वाधार र खेलमैदानको अभावमा समस्यामा पर्ने गर्दछन्, तर धामीको योगदानले जनज्योति प्राथमिक विद्यालयलाई यो चुनौती सामना गर्न सहज बनाएको छ।
सम्मान कार्यक्रममा विद्यालय प्रधानाध्यापक हिक्मत बहादुर धामीले भने, “दान पुण्य हो, यसको प्रतिफल अवश्य प्राप्त हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण जयदेव धामी हुनुहुन्छ। उहाँको ठूलो योगदानका कारण विद्यालय स्थापना मात्र होइन, यस विद्यालयको भविष्य निर्माणमा उहाँसँगै उहाँका सहकर्मी साथीहरूको पनि ठूलो योगदान रहेको समेत प्रधानाध्यापक धामी बताएका छन्।”
कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ३ का वडाध्यक्ष तथा युवा नेता नरेश बहादुर खवासले विद्यालयको यो कदम सराहनीय रहेको बताए। उनले भने, “विद्यालयको उन्नति शिक्षासँगै समाजको विकासको संकेत हो। समाजका अग्रजहरूको योगदानलाई सम्मान गर्नु हामी सबैको कर्तव्य हो।”
यस अवसरमा विद्यालयका प्रधानाध्यापकले स्वर्गीय पिताको सम्झनामा अक्षय कोष स्थापना गरी जेहनदार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए। यस कार्यबाट विद्यार्थी, शिक्षक र अभिभावकहरू समेत खुसी भएका छन्।
विद्यालय व्यवस्थापन समितिले विद्यालय स्थापनाका लागि योगदान दिने अन्य अग्रज व्यक्तित्वहरूलाई पनि सम्मान गरेको थियो। यो सम्मानले दान र सामाजिक सेवाका महत्त्वपूर्ण पक्षलाई उजागर गर्दै आगामी पुस्तालाई पनि समाजसेवामा प्रेरित गर्ने अपेक्षा गरिएको छ।