काठमाडौं, पत्रकार सुरेश रजकको विभत्स हत्या घटनाको विरोधमा नेपाल पत्रकार महासंघले शनिबारदेखि देशका विभिन्न क्षेत्रहरूमा र्याली निकाल्दै विरोध सभाहरू गरेको थियो भने आज आइतबार देशभर सांकेतिक आन्दोलन गर्ने घोषणा गरेको छ। महासङ्घले देशभरका पत्रकारहरूलाई कालोपट्टी बाँधेर काम गर्न आह्वान गर्दै विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेको हो।
सञ्चारकर्मीमाथि भएको आपराधिक आक्रमणको विरोधमा एकजुटता देखाउँदै महासङ्घले देशका विभिन्न जिल्लाहरूमा पत्रकारहरू कालोपट्टी बाँधेर आ-आफ्नो पेशागत कर्तव्य निर्वाह गरिरहेको जनाएको छ।
महासङ्घका अनुसार पत्रकार सुरेश रजकको हत्यामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइनुपर्ने, स्वतन्त्र पत्रकारिताको सुनिश्चितता गरिनुपर्ने र सञ्चारकर्मीको सुरक्षाका लागि प्रभावकारी व्यवस्था मिलाइनुपर्ने माग गर्दै आन्दोलनको सुरुवात गरिएको हो।
यो आन्दोलन शान्तिपूर्ण र सांकेतिक रूपमा भए पनि महासङ्घले आवश्यक परे थप कडा आन्दोलनमा जान सक्ने चेतावनीसमेत दिएको छ।