अत्तरिया, कैलालीकाे चुरे गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तासम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम चुरे गाउँपालिका अन्तर्गतका सबै ६ वटै वडामा सञ्चालन गरिएको हो।
कार्यक्रमको उद्घाटन चुरे गाउँपालिका-५ स्थित खानीडाँडाबाट गरिएको थियो भने समापन वडा नं. ४ को गर्भादरबारमा गरिएको हो। अभियानको उद्देश्य नागरिकलाई सामाजिक सुरक्षा, नागरिकता पञ्जीकरण, जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ लगायतका व्यक्तिगत घटना समयमै दर्ता गर्न उत्प्रेरित गर्नु रहेको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रममा प्रशिक्षकको रूपमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका एम.आइ.एस अपडेटर विशाल साउद तथा फिल्ड सहायक सुरज परियारले सहजीकरण गरेका थिए। उनीहरूले सहभागीहरूलाई सामाजिक सुरक्षासम्बन्धी नीति, प्रक्रिया, अधिकार र उत्तरदायित्वका विषयमा जानकारी दिएका थिए।
गाउँपालिकाका स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, सामाजिक परिचालक, महिला समूहका प्रतिनिधि, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको समेत सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा सहभागिहरूले सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ताको महत्वबारे जानकारी पाएपछि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्ने मागसमेत गरेका छन्।
स्थानीय सरकारको नेतृत्वमा गरिएको यो अभियानले गाउँपालिकाभित्र नागरिकहरूलाई कानुनी तथा प्रशासनिक प्रक्रियामा थप सजिलो हुने विश्वास लिइएको छ।