अब हामीले चुक्ने वा झुक्ने समय छैन : सहसचिव चौधरी

अत्तरिया,नेकपा एमालेको जिल्ला कमिटी सहसचिव गंगा चौधरीले अब हामीले चुक्ने वा झुक्ने समय नरहेको स्पष्ट पार्नुभएको छ। गोदावरी नगरपालिका–१ मा आयोजित वडा केन्द्रित ‘जरा अभियान’लाई सम्बोधन गर्दै उहाँले पार्टीको आगामी ‘मिशन ८४’ लाई सफल पार्न सबै नेता, कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

सहसचिव चौधरीले आगामी निर्वाचनसम्म कुनै पनि गुटउपगुटको राजनीति भन्दा माथि उठेर जनताको समाजसेवा, जनचासो र समस्याका समाधानमा केन्द्रित हुनुपर्ने बेला आएको बताउनुभयो। उहाँले आफू लामो समयदेखि नेकपा एमालेको राजनीतिक यात्रामा सक्रिय रहँदै आएको उल्लेख गर्दै आफ्नो राजनीतिक यात्राको पहिलो प्रेरणा शर्मानन्द भट्ट जाने बताउनुभयो। कुनै व्यक्तिको  व्यक्तित्वकै विकास व्यक्तिले नै अगाडि बढ्ने र व्यक्तिकै कारण व्यक्ति पछाडि पर्ने भएकाले स्वच्छ निष्पक्ष र इमान्दार व्यक्तित्वको नेतृत्वले समाज र व्यक्तिहरूको विकास सम्भव भएको समेत बताएकी थिइन्।

“कुनै पनि व्यक्ति नेतृत्वमा पुग्न उसको सोच, निष्ठा र इमान्दारिता महत्त्वपूर्ण हुन्छ। समाजको समुन्नति पनि त्यस्तै नेतृत्वबाट सम्भव छ,” चौधरीले भनिन्। उहाँले स्वच्छ, निष्पक्ष र समर्पित नेतृत्वबाटै समाज र पार्टीको विकास सम्भव हुने धारणा व्यक्त गर्नुभयो।

तीन महिने जरा अभियानलाई सफल बनाउँदै समृद्ध गोदावरी निर्माणमा सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो। चौधरीले वडा नं. १ को समृद्धिका लागि सबैले निरन्तर प्रयास गर्दै जनअपेक्षा र जनचासोलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो। वडास्तरीय समस्याहरूलाई समाधान गर्दै माथिल्लो तहसम्म पुर्‍याउने जिम्मेवारी पनि स्थानीय नेतृत्वले लिनुपर्ने उहाँको भनाइ थियो।

एक महिला नेतृको हैसियतले उहाँले विकास निर्माणमा लिएको दृढ संकल्पले नेकपा एमाले र समग्र गोदावरीका लागि सकारात्मक सन्देश दिएको सहभागीहरूले बताए। “महिला नेतृत्वले पनि सक्षम र उदाहरणीय काम गर्न सक्छ भन्ने प्रमाण गंगा चौधरीले प्रस्तुत गर्नुभएको छ,” एक स्थानीय कार्यकर्ताले भने।

सहसचिव चौधरीले पार्टीको सर्कुलर कार्यक्रमलाई महत्त्वपूर्ण मान्दै जनतासँग प्रत्यक्ष संवादमार्फत जनचासो बुझ्नुपर्ने आवश्यकतामाथि बल दिनुभयो। उहाँले निष्पक्ष सोच, एकीकृत विचार र साझा अभियानमार्फत पार्टी र समाजको विकासमा ढिलासुस्ती नहुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागिहरूले चौधरीको विचार र दृष्टिकोणलाई आत्मसात् गर्दै वडास्तरमै पार्टीको बलियो उपस्थिति बनाउने अठोट व्यक्त समेत गरेका थिए।

 

ताजा समाचार