अत्तरिया, कैलालीको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै भट्टलाई कञ्चनपुरको बेदकोट नगरपालिकामा काज सरुवा गरेको जनाएको छ।
२०७९ असोज ८ गते गोदावरी नगरपालिकामा हाजिरी भएका भट्टले करिब १८ महिना सेवा प्रदान गरेका थिए। उनको सरुवासँगै नगरपालिकाको प्रशासनिक नेतृत्व रिक्त भएको छ। मन्त्रालयले हालसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृत तोक्न नसकेको कारण नगरपालिकाको नियमित कार्यसमेत प्रभावित हुने देखिएको छ।
यसैबीच, नगरपालिकामा कार्यरत लेखापाल दिलबहादुर सिंहको स्थानमा प्रकाश भट्ट आउने भएका छन्। कोष तथा लेखा नियन्त्रण कार्यालयमा कार्यरत भट्टलाई गोदावरी नगरपालिकाको लेखापालका रूपमा सरुवा गरिएको सूचना अधिकारी शिवराज भाटले जानकारी दिए।
यसअघिका लेखापाल सिंहको माघ १३ गते सरुवा भएपछि नगरपालिकाको आर्थिक कार्य रोकिएको थियो। प्रकाश भट्टले पदभार ग्रहण गरेपछि नगरपालिकाको आर्थिक प्रशासन पुनः सहज हुने विश्वास गरिएको छ।
नगरवासी र कर्मचारीहरू नगरपालिकाको नेतृत्व चाँडो कायम हुनुपर्ने माग गरिरहेका छन्। प्रमुख प्रशासकीय अधिकृतको अभावले विकास निर्माणका काम प्रभावित हुने भएकाले छिट्टै नयाँ अधिकारी नियुक्त गर्न सरोकारवाला पक्षले सरकारसमक्ष आग्रह गरेका छन्।