अत्तरिया कैलालीको गोदावरी नगरपालिका, अत्तरियाको सृजनशील युवा क्लबद्वारा आयोजित ‘स्पोर्ट्स लिग’ खेल उत्सव अन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि सिवाईसी हाटखोली गाजरीले जित्न सफल भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सिवाईसी नायल ताल उपविजेता बन्न सफल भयो।
चौथो संस्करणको यस ‘स्पोर्ट्स लिग’ अन्तर्गत क्रिकेट, फुटबल र भलिबल खेल समावेश छन्, जसमा विभिन्न पर्यटकीय स्थलहरूका नाममा आठ टिम बनाइएको छ। ती टिमहरूमा सिवाईसी गोदावरी धाम, सिवाईसी हाटखोली गाजरी, सिवाईसी दोगडे फुलबस्ती, सिवाईसी लामिताल, सिवाईसी भल्का धाम, सिवाईसी बुढीतोला जिरो पोइन्ट, सिवाईसी नायल ताल, र सिवाईसी मछेली खोला रहेका छन्।
क्रिकेट प्रतियोगिताको फाइनल खेल गोदावरी नगरपालिका वडा नं ३ स्थित चौकीडाँडा सामुदायिक बन खेलमैदानमा सम्पन्न भएको थियो। उपाधि विजेता सिवाईसी हाटखोली गाजरीले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्यो भने उपविजेता सिवाईसी नायल तालले २५ हजार रुपैयाँ प्राप्त गर्यो। साथै, प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई पनि विशेष पुरस्कार प्रदान गरिएको थियो।
यस्तै, मंगलबारदेखि भलिबल र फुटबल खेलको प्रतिस्पर्धा सुरु हुनेछ। यी खेलहरू क्लबकै खेलमैदानमा सञ्चालन गरिने छन्। आयोजक सृजनशील युवा क्लबले प्रतियोगिताका लागि २ लाख रुपैयाँ पुरस्कार राशि छुट्याएको जनाएको छ।
२०५४ सालमा स्थापना भएको सृजनशील युवा क्लबले सामाजिक गतिविधिहरूमा सक्रिय भूमिका खेल्दै आएको छ। खेलकुद प्रवर्द्धनका साथै सामाजिक सेवामा पनि क्लबले योगदान दिँदै आइरहेको छ। ‘स्पोर्ट्स लिग’ प्रतियोगिता स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न र खेलकुद संस्कृतिलाई मजबुत बनाउन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।