धनगढी, चैत २६-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतका लागि धनगढीमा लगाइएका झन्डा आन्दोलनरत विद्यार्थीहरूले हटाएका छन्।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक– २०८१’ को विरोध गर्दै आएका विद्यार्थीहरूले विरोध स्थल नजिकै राखिएका झन्डा हटाएका हुन्।
आन्दोलनरत विद्यार्थीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्दै विरोध जनाएका थिए। सोही क्रममा सडक डिभाइडरमा राखिएका नेपाली कांग्रेसका झन्डा हटाएपछि माहोल केही तनाबग्रस्त बनेको थियो।
विद्यार्थीहरूले झन्डा हटाएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले प्रतिरोध जनाएका थिए। यस क्रममा केहीबेर सडक अवरुद्धसमेत भएको थियो। नेविसंघका कार्यकर्ताहरूले झन्डा फिर्ता राख्न माग गरेका थिए भने आन्दोलनरत विद्यार्थीहरूले विधेयक खारेजी नभएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भोलि सुदूरपश्चिम आउँदैछन्। उनी कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन को उद्घाटन गर्न धनगढी जान लागेका हुन्। देउवाको स्वागतका लागि विभिन्न स्थानमा झन्डा राखिएको थियो, तर आन्दोलनरत विद्यार्थीहरूले विरोध स्वरूप ती झन्डा हटाएका हुन्।
यसअघि नै विद्यार्थीहरूले विधेयक खारेजीको माग गर्दै निरन्तर सात दिनदेखि प्रदर्शन गर्दै आएका छन्। उनीहरूले सरकारलाई दबाब दिन संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।