अत्तरिया, डोटीबाट धनगढी तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
दिपायलबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप शनिबार राति कैलालीको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेको हो।
आफै अनियन्त्रित भई जिप दुर्घटना हुँदा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारेका २२ वर्षीय शङ्कर बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढीका चिकित्सकले मृत घोषणा गरेका थिए।
जिपमा सवार अन्य तीन जना पनि घाइते भएका छन्। घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६ वर्षीया कविता साउद रहेका छन्। घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।