अत्तरिया,कैलालीको अत्तरिया बजारमा विद्युत् विभागका एक कर्मचारीमाथि खुकुरी प्रहार भएको छ। इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार अज्ञात समूहले सोमबार साँझ सुन्दरलाल चौधरीमाथि आक्रमण गरेको हो।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका छ जना व्यक्तिले नो लाइट काउन्टरका कर्मचारी चौधरीमाथि अचानक खुकुरी प्रहार गरेका थिए। आक्रमणका क्रममा चौधरीको टाउँकोमा गम्भीर चोट लागेको छ। उनलाई तत्काल उद्धार गरी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पठाइएको छ।
हालसम्म घटनाको स्पष्ट कारण खुलेको छैन। प्रहरीका अनुसार आक्रमणकारीहरूको खोजी कार्य तीव्र पारिएको छ। स्थानीयहरूका भनाइ अनुसार चौधरी नियमित रूपमा नो लाइट काउन्टरमा सेवाग्राहीहरूको काम गर्दै आएका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। चौधरीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ।