अत्तरिया, अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ। दशरथ रङ्गशाला मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल २-० ले पराजित हुन पुग्यो। यस हारपछि नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फ्यानहरू समक्ष माफी मागेकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले पहिलो गोलका लागि आफू जिम्मेवार रहेको स्वीकार गरिन्। “मैदानमा चुकें र पहिलो गोलका लागि म नै जिम्मेवार थिएँ,” उनले लेखेकी छन्। साथै, उनले यस पराजयलाई सुधारको अवसरका रूपमा लिँदै आगामी दिनमा अझ राम्रो संरचनामा आधारित महिला लिगको आवश्यकतामा जोड दिइन्।
उनले खेलाडीहरूको आलोचना नगर्न आग्रह गर्दै सबैको समर्पण प्रशंसनीय रहेको बताइन्। “सबै खेलाडीले आफ्नो शतप्रतिशत दिएका थिए। यो खेलले हामीलाई कमजोरी सुधार्ने अवसर दिएको छ,” उनले उल्लेख गरिन्।
फाइनल खेलमा नेपाली टोलीले पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोस्रो हाफमा म्यानमारको दबाब झेल्न सकेन। ६५औं मिनेटमा म्यानमारले पहिलो गोल गर्यो भने इन्जुरी टाइममा दोस्रो गोल थप्दै उपाधि आफ्नो पक्षमा पार्यो।
यस हारपछि नेपाली महिला टिमको प्रदर्शनबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। समर्थकहरूले टिमको प्रयासको प्रशंसा गर्दै भविष्यमा अझ सशक्त लिग संरचना बनाउनुपर्ने माग राखेका छन्। कप्तान सुब्बाले पनि खेलाडीहरूको भविष्य सुधार गर्न दीर्घकालीन योजनाको खाँचो रहेको औंल्याएकी छन्।