अत्तरिया, नेकपा एमाले गोदावरी नगर कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै केन्द्रीय कमिटी सचिव एवं सुप इन्चार्ज लेखराज भट्टले पार्टीका विचार र सिद्धान्तप्रति प्रतिबद्ध रही काम गर्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन्। उनले बाह्य शक्तिहरूले नेकपा एमालेलाई घेराबन्दी गर्न खोजेको अवस्थामा सबै नेता-कार्यकर्ताले एकता प्रदर्शन गर्दै पार्टीलाई मजबुत बनाउनुको विकल्प नभएको बताएका छन्।
भट्टले सामाजिक सञ्जालको प्रभावलाई स्वीकार गर्दै पार्टीका विचार र एजेन्डाहरूलाई जनतामाझ पुर्याउन सोसल मिडियाको प्रभावकारी प्रयोग गर्न समेत आग्रह गरे। “आजको युगमा सोसल मिडिया मुख्य प्रभावको माध्यम बनेको छ। पार्टीका सन्देशहरूलाई जनतासम्म पुर्याउन योजनाबद्ध रूपमा काम गर्न आवश्यक छ,” उनले भने।
पछिल्लो समय सरकारका गतिविधिहरूलाई जनतामाझ पुर्याउन पनि नेता-कार्यकर्ताहरूले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो। कैलाली क्षेत्र नम्बर ४ मा एमालेको बलियो उपस्थिति रहेको जनाउँदै उनले यस क्षेत्रको नेतृत्व पार्टीको साझा सम्पत्ति रहेको उल्लेख समेत गरे।
“कुनै पनि नेता वा कार्यकर्तालाई पार्टीले सजिलै कारबाही गर्दैन। पार्टीले ठूलो संघर्ष र मेहनतपछि एउटा नेता जन्माउँछ। तर जब कुनै नेता विचार र सिद्धान्तको मार्गबाट विचलित हुन्छन्, तब मात्र कारबाहीको विषय उठ्छ,” उनले भने। पार्टीलाई शुद्धिकरण अभियानमार्फत थप मजबुत बनाउनेतर्फ केन्द्रित भएको पनि उनले बताए।
गोदावरी नगरमा देखिएको संगठनात्मक समस्याबारे इन्चार्ज भट्टले चिन्ता व्यक्त गर्दै समाधानका लागि नगर कमिटीले योजनाबद्ध कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिए। “नेतृत्वमा समस्या छैन, तर तल तहमा देखिएको समस्या समाधान गर्न नगर कमिटीले भूमिका खेल्नुपर्छ,” उनले स्पष्ट पारे।
पार्टी सशक्त बनाउन सक्षम व्यक्तित्वहरूको योगदान आवश्यक रहेको बताउँदै उनले चारजना प्रभावकारी नेताले ४०० जना सक्षम कार्यकर्ता तयार गर्न सक्ने लक्ष्यमा अघि बढ्न आह्वान गरे।
बैठकमा पार्टीका विचार, सिद्धान्त र कार्यक्रमहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्दै पार्टी सशक्त बनाउन सम्पूर्ण कार्यकर्ताहरू एकताबद्ध भएर लाग्ने प्रतिवद्धता गरे।