अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–८ मा रहेको खुटिया खोलामा नेकपा एमाले गोदावरी नगर कमिटीले मापदण्ड विपरीत भइरहेको उत्खननको अनुगमन गरेको छ। बुधवार नगर कमिटीले खुटिया खोलामा उत्खनन मापदण्ड अनुसार भइरहेको छ या छैन भनी स्थलगत निरीक्षण गरेको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार योजना तथा कार्यक्रमहरूको अनुगमन गर्ने जिम्मेवारी उपमेयरको हो। तर यसपटक उपमेयरकै पार्टी एमाले नगर कमिटीले अनुगमन गरेको हो। नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा गोदावरी इन्चार्ज खम्बु बुढासहित नगर कमिटीका अध्यक्ष सन्तोष सिंह र अन्य नेता–कार्यकर्ताहरूको टोलीले अनुगमनमा सहभागिता जनाएका थिए।
नगर कमिटीका अध्यक्ष सन्तोष सिंहले अनुगमनको क्रममा खोलामा नगरपालिकासँग गरिएको सम्झौताअनुसार उत्खनन नभएको पुष्टि गरे। उनले भने, “नगरपालिकाले सम्झौतामा खोलाको आकृति तथा बहाव बिग्रिने गरी नदीजन्य पदार्थ उत्खनन नगर्नुपर्ने उल्लेख गरेको छ। तर, यहाँ ठुला पोखरीहरू बनेका छन्। नियमको पालना भएको देखिँदैन।”
उनका अनुसार, आइईई प्रतिवेदनले तोकेको १ मिटरभन्दा बढी खन्न नपाइने ठाउँमा २ मिटरभन्दा गहिरो खनिएको पाइएको छ। उनले ठेकेदार कम्पनीहरूले नगरपालिकाले तोकेका नियमहरूको अवहेलना गरेको दाबी गरे।
अध्यक्ष सिंहले अनुमति लिइएका सीमाभित्र मात्र नदीजन्य पदार्थ संकलन गर्नुपर्नेमा दोहन गरिएको फेला परेको बताए। “हामीले अनुमान गरेभन्दा भयावह अवस्था देखिएको छ। यो दोहनले वातावरणीय सन्तुलन र खोलाको प्राकृतिक प्रवाहमा नकारात्मक असर पुर्याउने निश्चित छ,” उनले भने।
नगर कमिटीका सचिव विक्रम बिष्टले अनुगमनका क्रममा समुदायका पदाधिकारीहरूले पनि यस्ता गतिविधिप्रति सतर्कता अपनाउनुपर्ने सुझाव दिए। “खोलाका विपरीत दिशामा भइरहेका यस्ता गतिविधिहरूले समुदायलाई दीर्घकालीन असर पुर्याउने भएकाले सबैले ध्यान दिनु आवश्यक छ,” उनले भने।
अनुगमन टोलीले तत्कालै नियमनको व्यवस्था गरिनुपर्ने निष्कर्ष निकालेको छ। खुटिया खोलामा भएको अनियमित उत्खननले प्राकृतिक संरचना र वातावरणमा गम्भीर असर पुर्याउने भएकाले आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको छ।
अनुगमनपछि नगर कमिटीले स्थानीय सरकारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने र सम्झौतामा उल्लेखित नियमको कडाइका साथ कार्यान्वयन गराउनुपर्ने माग गरेको छ।