अत्तरिया,कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालका प्रबन्ध निर्देशक डा.नरबहादुर मौनीले चिकित्सा क्षेत्रसँगै समाजसेवामा पनि महत्त्वपूर्ण योगदान दिइरहेका छन्। अस्पतालबाट प्राप्त आम्दानीको केही हिस्सा अनाथ र सडकमा भौतारी रहेका बालबालिकाको पालनपोषण, शिक्षा, र स्वास्थ्य सेवामा खर्च गर्दै आएका डा.मौनी समाजसेवीका रूपमा स्थापित भएका छन्।
अनाथ बालबालिकाको लागि अभिभावकजस्तै बनेका डा. मौनीले सडकमा बेसहारा अवस्थामा रहेका बालबालिकालाई माया, प्रेम, र सद्भाव प्रदान गर्दै आएका छन्। उनका अनुसार ती बालबालिकाको संरक्षण गर्नु नै समाजका लागि ठूलो धर्म हो। उनी भन्छन्, “सडकमा रहेका बालबालिकालाई माया दिनु भगवानलाई सेवा गरे बराबर हो।”
डा.मौनीले आफ्नै पहलमा “महिला तथा बालबालिका सेभ हाउस” जमिन र घर उपलब्ध गराएर आश्रय प्रदान गरेका छन्। यस सेभ हाउसमा रहेका बालबालिकाको स्वास्थ्य अवस्थाबारे जान्न उनी स्वयं पुग्ने गर्छन्। बालबालिकाको स्वास्थ्य उपचार निःशुल्क गर्दै उनीहरूको स्वास्थ्य र शिक्षा सुनिश्चित गर्न निरन्तर क्रियाशील छन्।
उनी गोदावरी क्षेत्रका विभिन्न सार्वजनिक कार्यक्रमहरूमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। अधिकांश सार्वजनिक कार्यक्रममा डा.मौनीको महत्वपूर्ण सहयोग रहेको पाइन्छ। चाहे आर्थिक सहयोग होस् वा प्रत्यक्ष उपस्थितिका माध्यमबाट जनचेतना फैलाउने कार्य, उनले समाजमा आफ्नो प्रभावकारी भूमिका देखाउँदै आएका छन्। विभिन्न सामाजिक तथा परोपकारी कार्यहरूमा उल्लेखनीय योगदान पुर्याएका डा.मौनीले अनाथ बालबालिकाको भविष्य उज्ज्वल बनाउन चिकित्सा क्षेत्रसँगै समाजसेवाको उदाहरणीय कार्य गर्दै आइरहेका छन्।
डा.मौनीको यो सेवा र समर्पणले उनलाई समाजमा एउटा आदर्श व्यक्तित्वको रूपमा स्थापित गरेको छ। उनले देखाएको मानवता र सहानुभूतिको यो मार्ग धेरैका लागि प्रेरणादायी बनेको छ।