अत्तरिया,कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ राजघाटमा सिकलसेल एनिमिया र थालेसिमिया रोग पहिचान तथा निदानका लागि लक्षित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविरमा ६१२ जनाले रगत परीक्षण गराएका छन्।
थारु समुदायलाई लक्षित गर्दै कृष्णपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा तथा निमेष सामुदायिक अस्पताल, गुलरियाको प्राविधिक सहयोगमा वडा नं. ८ को रैकवार बिचवा स्वास्थ्य चौकीमा बिहानैदेखि शिविर सञ्चालन गरिएको हो।
शिविरको उद्घाटन गर्दै नगर-प्रमुख हेमराज ओझाले थारु र राना समुदायमा प्रचलित देखिएको सिकलसेल एनिमिया र थालेसिमिया रोगको निवारणका लागि नगरपालिका गम्भीरताका साथ लागिपरेको बताउनुभयो। उहाँले थारु समुदायमा करिब ३७ प्रतिशत जनसंख्या रहेको उल्लेख गर्दै पछिल्लो समय यी रोगहरूको प्रकोप तीव्र भएकाले आवश्यक उपचार तथा जनचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
कार्यक्रममा उपप्रमुख द्रोपती राना, वडा नं. ८ का जनप्रतिनिधि, स्वास्थ्यकर्मी टोली, तथा स्थानीय स्वयंसेवकहरू सक्रियताका साथ सहभागी भएका थिए।
नगरपालिकाले थारु समुदायका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई नि:शुल्क स्वास्थ्य शिविरको सेवा लिन अनुरोध गरेको छ। शिविरको उद्देश्य रोग पहिचान मात्र नभई यसको रोकथाम र उपचारका लागि समयमै कदम चाल्नु रहेको नगरपालिकाले जनाएको छ।