अत्तरिया,नेकपा एमालेका पूर्व उपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासन गरिएको घटनापछि सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा राजनीतिक गतिविधि र कार्यकर्ताहरूको मनोभावनामा कस्तो प्रभाव परेको छ भन्ने विषयमा कैलाली क्षेत्र नम्बर ४ (ख) का इन्चार्ज किसन साउद (विशाल) ले प्रतिक्रिया दिएका छन्।
इन्चार्ज साउदले टाइगर न्यूजसँगको कुराकानीमा भनेका छन्, “डाक्टर भीम रावलको पार्टीबाट निष्कासनपछि यहाँका नेता कार्यकर्ता र शुभचिन्तकहरूको मनोभावनामा कुनै गम्भीर असर परेको छैन।” उनले आफ्नो क्षेत्रमा कुनै ठूला विवाद या बैरमनुष्यता सिर्जना नभएको बताए।
उनका अनुसार केही नेता कार्यकर्ताहरूले यो विषयमा जानकारी लिन फोन गरे पनि ठोस असन्तुष्टि वा पार्टी विभाजनको संकेत भने अहिलेसम्म देखिएको छैन। “केही व्यक्तिहरू पार्टी छोड्न सक्ने सम्भावना देखिएको भए पनि यसले ठूलो प्रभाव पार्ने स्थिति छैन,” उनले भने।
डा. भीम रावलले चार-पाँच दशकदेखि सुदूरपश्चिम क्षेत्रमा राजनीतिमा बिताएका भए पनि हालको परिस्थितिमा पार्टीमा उनको निष्कासनले स्थानीय नेता कार्यकर्ताहरूको गतिविधिमा खासै परिवर्तन नआएको साउदले जनाए। तर, डा. रावलको देशव्यापी दौडाह अभियानपछि स्थिति प्रस्ट हुने उनको धारणा छ।
यस क्षेत्रका १४ वटै वडाका कार्यकर्ता र शुभचिन्तकहरूको मनोभावना भने सामान्य छ र यस निष्कासनको प्रभाव पार्टीको स्थानीय स्तरमा ठुलो असर पार्ने कुनै संभावना उनीहरूले देखेका छैनन्। “हामीले पार्टीको लागि काम गरिरहेका छौं र कार्यकर्ता र शुभचिन्तकहरू पनि सँगै छन्,” उनले भने।