डडेल्धुराको दुर्गम बस्तीका विद्यार्थीहरूको शैक्षिक भ्रमण भुवनेश्वरी माविमा

अत्तरिया, डडेल्धुराको परशुराम नगरपालिका वडा नं. ३ मा रहेको दुर्गम बस्तीको जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरूले भित्री मधेसकै प्रसिद्ध पर्यटकीय क्षेत्र परशुराम धाम र भुवनेश्वरी नमुना माध्यमिक विद्यालयको अवलोकन भ्रमण गरेका छन्।

यस शैक्षिक भ्रमणमा विद्यार्थीहरूसँगै अभिभावकहरूको पनि सक्रिय सहभागिता रहेको थियो। भ्रमणको मुख्य उद्देश्य विद्यार्थीहरूको अध्ययनमा विविधता थप्नु र व्यावहारिक ज्ञान प्रदान गर्नु रहेको विद्यालयका प्रधानाध्यापक हिक्मत बहादुर धामीले जनाएको छ।

भुवनेश्वरी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक डम्बर बहादुर थ्वालले आफ्नो विद्यालयलाई शैक्षिक भ्रमणको गन्तव्य बनाएकोमा खुसी व्यक्त गर्दै जनज्योति विद्यालयलाई धन्यवाद ज्ञापन गरे। उनले भने, “हामीलाई हाम्रो शैक्षिक वातावरण र संरचना विद्यार्थी तथा अभिभावकलाई देखाउने अवसर प्राप्त भएकोमा अत्यन्तै गर्व छ।”

परशुराम धामको भ्रमणबाट विद्यार्थीहरूले धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक ज्ञान आर्जन गर्नुका साथै त्यस क्षेत्रको प्राकृतिक सौन्दर्यको अनुभव लिएको जनाइएको छ। यस प्रकारका गतिविधिले विद्यार्थीहरूलाई पुस्तक बाहिरको संसार बुझ्न सहयोग पुग्ने र शैक्षिक वातावरणमा सकारात्मक प्रभाव पर्ने जनाइएको छ।

जनज्योति विद्यालयका शिक्षकहरूले यस्ता भ्रमणले विद्यार्थीको सिकाइ क्षमतामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्। अभिभावकहरूले पनि विद्यालयको यस्तो प्रयासको सराहना गर्दै आगामी दिनमा अझै धेरै यस्ता कार्यक्रम गरिनुपर्ने बताएका छन्।

शैक्षिक भ्रमणले विद्यार्थीहरूको मनोबल उच्च बनाउनुका साथै उनीहरूलाई भविष्यमा यस्ता कार्यक्रमहरूसँग जोड्ने प्रेरणा दिने विश्वास गरिएको छ।

 

 

ताजा समाचार