अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा पर्सीदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुने भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा गोदावरी नगरपालिकाको आयोजनामा १८ गते देखि प्रतियोगिता शुरु हुने शिक्षा शाखाले जनाएको छ ।
मंगलबारबाट शुरु हुने प्रतियोगिता २१ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिता गोदावरी नगरपालिका –७ मा रहेको दुर्गा भवानी मावि हरैयाँमा सञ्चालन हुने छ भने प्रतियोगिताका खेलहरु भने अन्य बिद्यालयमा पनि खेलाईने आयोजकले जनाएको छ । प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ३३ वटा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा भलिबल, कबड्डी, मार्सलआर्ट, एथलेटिक्स र फुटबल खेल खेलाइने जनाइएको छ । प्रतियोगितामा १८ वर्ष भन्दा कम उमेर समूहका विद्यार्थीले भाग लिन पाउने बताईएको छ ।
प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक शिवराज भटराई बताए । प्रतियोगिता संयोजक भटराई प्रतियोगितामा सहभागिका लागि १ लाखको स्वास्थ्य बिमा गरिएको बताए । उनले प्रतियोगिता संचालन हुने स्थानमा हेल्थ डेस्कको पनि व्यवस्था गरिने बताए । गोदावरीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तेस्रो पटक आयोजना गर्न लागिएको हो । यसअघि अत्तरियामा रहेको शैलेश्वरी बिद्यालयलमा प्रतियोगिता आयोजना गरिएको थियो ।