चाडपर्वमा छोराछोरीले किताब थन्क्याए के गर्ने ? लेख्न–पढ्न छाडे के गर्ने ? विद्यालय वा कक्षाकोठा बिर्सिए के गर्ने ?

संभवतः धेरै अभिभावक यही प्रश्नमा अल्झिएका छन् । यही मनोविज्ञानको कारण कति अभिभावक भनिरहेका हुन्छन्, ‘हाम्रो छोराछोरीलाई पुग्ने गरी होमवर्क दिनुहोस् है, नभए चाडपर्वको रमझममा पढाइ बिगार्छन् ।’

अभिभावकको मन राख्न र आफ्नो ‘कर्तव्य’ पूरा गर्न विद्यालयहरूले दशैं विदामा विद्यार्थीलाई झोलाभरी होमवर्क दिएर पठाउने गर्छन् । होमवर्क दिने होडबाजी पनि कस्तो भने, विद्यार्थीले विदामा पनि फुर्सद नपाओस् । यस्तो लाग्छ, मानौं विद्यार्थीलाई होमवर्क दिइएन भने उनीहरूको पढाइ चटक्कै छुट्छ । बर्बादै हुन्छ ।

जबकि दशैं–तिहार जस्ता कुनै पनि चाडपर्व आफैंमा एक खुला पुस्तक हुन् । यस्तो पुस्तक, जहाँ सिक्न र बुझ्नका लागि अनेक कुरा हुन्छन् । त्यसैले यी चाडपर्वमा उनीहरूलाई होमवर्कको दबाब दिनुभन्दा पनि उन्मुक्त रमाउने वातावरण मिलाउनु सर्वोत्तम हुन्छ ।
जब बालबालिकामा कुनै तनाव र दबाब हुँदैन, तब उनीहरूको मन र मस्तिष्क खुला हुन्छ । यस्तो मनस्थितिमा उनीहरू नयाँ–नयाँ कुरा हेर्न अनि झेल्न उत्सुक रहन्छन् । देखेका, सुनेका, भोगेका कुराहरू उनीहरूको मस्तिष्कले सहजै ग्रहण गर्छ ।
त्यसैले हामीले कुनै पनि चाडपर्व कसरी मनाउँछौं ? त्यसका विधि–विधान कसरी सम्पन्न गर्छौं ? त्यसका मर्म र महिमालाई कसरी आत्मसात् गर्छौं ? यी कुरा महत्वपूर्ण छन् । किनभने कुनै पनि चाडपर्वको आफ्नै विशिष्टता हुन्छ र त्यो हाम्रो जीवन पद्धतिसँग अभिन्न रूपले गाँसिएको हुन्छ ।
त्यसैले त कुनै पनि चाडपर्वले हामीलाई रमाउने मेलो दिन्छ, सामाजिक जीवनमा हेलमेल गराउँछ, सद्भाव र सौहार्दमा बाँच्न सिकाउँछ ।
वास्तवमा कुनै पनि चाडपर्व आफैंमा जीवन पद्धति र दर्शन पनि हो । यस्ता चाडपर्वले हामीलाई जीवन र जगतका अनेकन् कुरा बुझाउँछ, अनुभूत गराउँछ । र, सुन्दर जीवन बाँच्न प्रेरित गर्छ ।
जस्तो दशैंको कुरा गरौं । यो चाडको सार हो, असत्यमाथि सधैं सत्यको जीत हुन्छ । चाहे जतिसुकै भयंकर हुंकर गरौं, जतिसुकै भयंकर प्रपञ्च रचौं, जतिसुकै भयंकर शक्ति प्रयोग गरौं । आखिरमा सत्य डग्दैन । तर, यो चाडले यति मात्र भन्दैन । यसको अन्तर्य अरू आयमिक छ ।
जब हामी दशैंलाई विधिपूर्वक मनाउँछौं, त्यसले हाम्रा बालबालिकालाई धेरै कुरा सिकाउँछ, बुझाउँछ । त्यसैले दशैैंमा गरिने हरेक विधि–विधानलाई हामीले बालसुलभ उत्सुकताले हेर्न, प्रश्न गर्न र बुझ्न जरुरी हुन्छ ।
शक्तिको देवी किन ?
हाम्रो समाज मात्र होइन, दुनियाँ नै पितृसत्तात्मक छ । हरेक घर, कार्यालय, मुलुक जहाँ पनि पितृसत्ताले घेरा हालेको छ । पितृसत्ताको यो घेराबन्दीमा दशैंले नारीशक्तिको महिमा बताउँछ ।
दशैं वास्तवमा नारीशक्तिको पूजा पनि हो । माता दुर्गा भवानीको पूजाआजा गरी मनाइने दशैंले नारीका विविध आयाम र पक्षलाई उजागर गर्छ । नारीलाई ब्रह्माण्डको शक्ति र उत्पत्तिको कारण मानिन्छ ।
दशैंमा जसरी नारी शक्तिको पूजाआजा गरिन्छ, यसले आमा, दिदी, बहिनी, भाउजु, बुहारी वा अनेक नाता र रूपमा समेटिएका नारीहरूलाई सम्मान गर्न प्रेरित गर्छ ।
नवदुर्गाको पूजा किन ?
हुन त दशैंलाई मीठो–मसिनो खाने, रमझम गर्ने चाड भनेर व्याख्या गरिरहेका हुन्छौं । जबकि यो चाडले शारीरिक शुद्धिलाई पहिलो प्राथमिकतामा राख्छ ।
जस्तो घटस्थापनापछिको १० दिनसम्म विधिगत रूपमा दशैं मनाइन्छ र यस अवधिमा शारीरिक, आत्मिक रूपले शुद्ध रहने विधि छ ।
जस्तो नव दुर्गाको सांकेतिक अर्थ पनि शरीरको नौ द्वारसँग छ । नौ द्वार भन्नाले मुख, दुई नाक, दुई आँखा, दुई कान, मलद्वार, मूत्रद्वार । यिनै द्वारको शुद्धीकरण वा सरसफाइ गर्ने प्रक्रियाहरू छन् । उपवास बस्ने, ताजा वा सात्विक खानपान गर्ने, हरेक बिहान नुहाउने, पूजाआजा गर्ने यावत् विधिहरूले शारीरिक शुद्धिलाई अथ्र्याउँछ ।
दुर्गाको नौ अवतार किन ?
नवरात्र अर्थात् घटस्थापनादेखि विजय दशमीको दिनसम्म विभिन्न ९ वटा दुर्गा स्वरुपको पूजाआजा गरिन्छ । यी फरक देवीको स्वरुपले जीवनको विभिन्न चरणलाई बुझ्न र आत्मसात् गर्नका लागि प्रतीकात्मक अर्थ बोकेको छ । हरेक देवीको नाम, स्वरुप, आवरण, रंग, बस्त्र, अस्त्र आदिको माध्यमबाट जीवनको कुन चरणमा के गर्ने भन्ने कुरा मिहिन रूपमा बुझाएको छ । यस कुरालाई यहाँ सारांशमा उल्लेख गरिएको छ ।
पहिलो दिन शैलपुत्री देवी, जसलाई दुर्गाको पहिलो अवतार मानिन्छ । शैलपुत्रीलाई पहाड वा पर्वतकी पुत्री भनेर पनि अथ्र्याइन्छ । शैल शब्द प्रतीकात्मक छ । यसको अर्थ पहाड हो । पहाड जस्तै अटल भएर पिताबाट पुत्रीलाई सुरक्षा, हेरचाह, ममता, माया आदि प्राप्त भएको हुन्छ ।
यस अवतारलाई एउटा बालकको रूपमा पनि बुझाइन्छ, जसले आफ्ना अभिभावकको प्रेमिल छत्र–छायाँमा हुर्कने अनुकूलता पाउँछन् । बालक आफैंमा संभावना हुन् । शैलपुत्रीलाई जीवनको संभावनासँग पनि जोडेर व्याख्या गरिन्छ ।
ब्रह्मचारिणी देवी माताको दोस्रो अवतार । यसको नामले के अर्थ बोकेको छ भने, ब्रह्म अर्थात् ज्ञान । आचर अर्थात् पालना । समग्रमा ज्ञानको पालना । यो समय भनेको अनुशासित ढंगले ज्ञानगुन सिक्ने, बुझ्ने हो । एउटा बालक जब विद्यालय जान सुरु गर्छ, उनीहरूले आमाबुवाको लाड–प्यारमा मात्र रहन हुँदैन, बरु आफैंलाई अनुशासनमा राखेर नयाँ–नयाँ कुरा सिक्नका लागि मिहिनेत गर्नुपर्छ । तब जीवनलाई सहज र सरल बनाउन सकिन्छ ।
चन्द्रघण्टा देवीमाताको तेस्रो रूप हो । चन्द्रको अर्थ शीतल, घण्टाको अर्थ आराधना । अर्थात् ज्ञानले सम्पन्न अवस्था हो यो जो चन्द्रमा जस्तै सौम्य र शीतल हुन्छ । सदा ज्ञानको आराधना र उपवासबाट स्वयम् खुसी रहन्छ । धर्मको बाटो देखाउँछ, सेवाभाव राख्छ ।
कुष्माण्डा देवीको चौथो अवतार हो । कुष्माण्डाको अर्थ सृष्टि भन्ने लाग्छ । यसले ब्रह्माण्डमा भएको ऊर्जाको सानो रूप विस्तार हुँदै क्रमशः पूर्ण अवस्थामा पुग्छ भनी जनाउँछ । यहाँ कुको अर्थ सानो, उष्माको अर्थ ताप वा ऊर्जा, अण्डाको अर्थ गोलाकार भन्ने बुझाउँछ । यसले मातालाई परिपूर्ण रूपमा बुझाउँछ ।
स्कन्धमाता दुर्गाको पाँचौं अवतार हो । गर्भवतीको स्वरुपसँग स्कन्धमातालाई तुलना गरिएको छ । माता ममतामयी वा सन्तानको वात्सल्यले परिपूर्ण हुन्छन् । यहाँसम्म आइपुग्दा उनी एउटी माताको रूपमा प्रकट भइसकेकी छिन् । उनी भगवान् कार्तिकेय वा स्कन्ध भगवान्को माता हुन् । स्कन्धमातालाई मातृत्वको स्वरुप मानिन्छ ।
कात्यायनी माताको छैटौं अवतार हो । यस अवतारमा माताको रूपमा अठार वटा हात देखाइएको छ । यसले उनको कार्यकौशलता, सीप र शक्तिलाई उजागर गर्छ । एउटी आमा आफैंमा शक्तिको पुञ्ज हुन् भन्ने कुरा यस स्वरुपले दर्शाउँछ । जुनसुकै नारी आमा बनेपछि उसभित्र दिव्य शक्ति प्रकट हुन्छ भन्ने अर्थ यसले देखाउँछ ।
कालरात्रि माताको सातौं अवतार हो । यो माताको रौद्र रूप हो । रिसाएको वा विनाशको अवस्थामा भएको रूप । एउटी नारीले जसरी ब्रह्माण्डको रचना गर्न सक्छे, उसैगरी प्रलय वा विनाश गर्न पनि सक्छे । यसले नारीको फरक शक्ति वा ऊर्जालाई बुझाउँछ ।
माताको आठौं रूप हो महागौरी । माताले जसरी कालरात्रि जस्तो रौद्र रूप लिएकी थिइन्, त्यसैगरी महागौरी जस्तो शान्त र सुन्दर रूप पनि लिन सक्छिन् । एउटी नारी आफ्ना परिवारको सुख, शान्ति र सम्पन्नताको रूपमा पनि रहन्छे । यो नारीको प्रेममयी स्वरुप हो, जो परिवारप्रतिको दायित्व र कर्तव्यले लपेटिएकी छिन् ।
सिद्धिदात्री माताको अन्तिम अवतार हो । यसले जीवनको सम्पूर्णतालाई बुझाउँछ । अर्थात् एउटी नारी, जोसँग जीवनका सबै आयाम समेटिएका छन् । यो चरणमा एउटी नारीले जीवनका लागि चाहिने सबै ज्ञान, अनुभव प्राप्त गरिसकेको अवस्था हो । उनले आफ्नो ज्ञान, सीप, कौशल आफ्ना सन्ततिका लागि हस्तान्तरण गर्छे । त्यही ज्ञानको उपयोग गरेर आफ्नो सन्तानलाई सत्यको मार्गमा हिंड्न प्रेरित गर्छे ।
अतः हाम्रो पूर्वीय सभ्यतामा एउटा पूर्ण जीवनको मापन शक्ति, ज्ञान र सम्पन्नताले युक्त भनी गरिन्छ । यसैलाई हाम्रा चराचर जगतले मनन् गरुन् भनेर दशैं, तिहार, सरस्वती पूजा मनाइने गरिएको छ । दशैं शक्ति वा ऊर्जाको पूजा, तिहार धन वा ऐश्वर्यको पूजा, सरस्वती ज्ञान, कला, सीपको पूजा ।
सबैभन्दा महत्वपूर्ण कुरा के छ भने, यी तीनै प्रतीकको रूपमा हामीले देवी मातालाई मान्ने गरेका छौं । देवी अर्थात् नारी ।
समग्रमा के भन्न सकिन्छ भने, हाम्रा चाडपर्वहरू ‘हल्का मनोरञ्जन’ मात्र होइन । यसले हामीलाई रमाउने बहाना मात्र दिंदैन, जीवनलाई सही अर्थमा बुझ्ने र सुन्दर ढंगले बाँच्ने मेलो पनि दिन्छ । यही कुरा हाम्रा बालबालिकाले पनि क्रमशः सिक्दै जान्छन्, जब हामी विधिपूर्वक यस्ता चाडपर्व मनाउने गर्छौं । लेखक भट्टराई कागेश्वरीस्थित अक्षरा स्कुलकी कार्यकारी निर्देशक हुन्