अत्तरिया, हिन्दु धर्मावलम्बीहरूको महान् चाड दसैँ आउन अब दुई दिन मात्रै बाँकी छ । दसैँ नजिकिए सँगै घरबाट टाढा भएकाहरु फर्किने क्रम जारी छ । पछिल्लो समय दसैँ घरपरिवारमा मात्रै नभएर घुम्ने चलन पनि बढेको छ । मानिसहरूमा दसैँमा बिदामा टाढा टाढाका ठाउँ देखि दसैँकै दिन नजिकका स्थानमा पनि घुमिफेर गर्ने चलन बढ्दै गएको छ ।

दसैँ आउन दुई दिन मात्रै बाकी भएकाले टाढाका स्थानमा घुमफिर गर्ने सम्भावना कम छ । तर, दसैँकै दिन टिकाटालो गरेर भने नजिकका स्थानमा स–परिवार तथा साथीभाइ सँग घुम्न सकिन्छ । यसरी दसैँकै दिन घुम्न सकिने गोदावरी नगरपालिकामा पनि केही ठाउँ छन् । प्रदेशको राजधानी तोकिएको यस क्षेत्रमा केही स्थान यस्ता पनि छन् जुन प्रदेश भरिमै चर्चित छन् ।

यी हुन दसैँमा घुम्न सकिने गोदावरीका ५ स्थान,गोदावरी धाम

सुदूरपश्चिम प्रदेशको मुख्य तीर्थस्थल गोदावरी धाम धार्मिक पर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास हुँदै गएको छ । सो क्षेत्रमा विभिन्न मन्दिर र पर्यटकलाई लक्षित गरी होटेल रिपोर्टलगायतका संरचना निर्माण गरिएका छन् ।
यो क्षेत्रमा पश्चिम नेपालकै सबैभन्दा अग्लो ५१ फिटको हनुमानको मूर्ति रहेको छ । अत्तरिया चोक देखि करिब २० किमी उत्तर चुरे पहाडको फेदमा रहेको गोदावरी क्षेत्रमा गोदावरी नदी, छेउमा मठ मन्दिर, धर्मशाला, बौद्ध गुम्बा रहेका छन् ।
सुदूरपश्चिम प्रदेशका सात वटा पहाडी जिल्लाको मुख्य प्रवेशद्वार र धनगढी–डडेलधुरा राजमार्गको छेउमै रहेको यो क्षेत्रलाई सप्त गोदावरीमध्येको प्राचीन गोदावरीका रूपमा लिने गरिन्छ । वृद्ध गौतमका नामले समेत चिनिने यो क्षेत्रमा भगवान् श्रीकृष्णले स्नान गरेको स्कन्द पुराणमा उल्लेख गरिएकाले यसको धार्मिक महत्त्व ठुलो रहेको छ । यसका साथै गोदावरीमा भगवान् राम, भीष्म पितामह र पाण्डवले पनि स्नान गरेको किंवदन्ती छ ।
लामिताल
कैलालीको अत्तरियामा रहेको लामिताल यस क्षेत्रको मुख्य पर्यटकीय स्थल हो । पछिल्लो समय लामिताल पर्यटनको आकर्षणको केन्द्र बनेको छ । गोदावरी नगरपालिका २ मा पर्ने यो ताल अत्तरियाको बसपार्क देखि हिँडेरै ५ मिनेटमै पुग्न सकिन्छ । प्राकृतिक सौन्दर्यले भरिएको यो ताल ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । चारैतिर हरियाली रुखले भरिएको यो ताल प्रर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ ।
मछेली पार्क र ताल
कैलालीको अत्तरिया बजार देखि १३ किलोमिटर टाढा रहेको यो यो ठाउँ पछिल्लो समय पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको छ । यो तालमा मछेली नदीमा प्राकृतिक ताल सँगै मछेली नदीको किनारामा पार्क रहेका छन् । पहाडको फेदमा रहेको यो ठाउँ चारै तिरको हरियालीले झन् आकर्षक देखिन्छ ।
गोदावरी नगपालिका – ११ मा प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मछेली नदी किनारामा पार्क निर्माण गरिएपछि यसको सौन्दर्यता झनै बढेको छ । प्राकृतिक रूपमै सुन्दर यो क्षेत्रमा शान्त र रमणीय वातावरण भएका कारण यहाँ मानिसहरू पिकनिक गर्न र गर्मीमा चिसो छल्न आउने गर्दछन् ।
हाटखोली
गर्मी छल्न र प्राकृतिक रूपमा रमणीय स्थल मध्येको एक हाटखोली पनि हो । गोदावरी नगरपालिका–४ स्थित हाटखोलीमा यो गर्मी मौसममा नुहाउने र रमाउनेका लागि उपयुक्त स्थान हो । वरिपरि हरियाली, ठुला मसिना रङ्गीबिरङ्गी ढुङ्गा, छेवैमा अग्लो पहाडबाट छङ्छङ् झरेको झरना र घाँसको थुम्का जस्तो हरियो पानीले सजिएको ढुंगाको कापोमा अवस्थित विशाल दुई प्राकृतिक पौडी स्थल यहाँ रहेका छन् ।
चुरे पहाडको फेदीमा अवस्थित हाटखोली केही समथर भूभागमा अवस्थित छ । हाटखोली समुन्द्री सतहबाट झन्डै दुई सय २० मिटर उचाइमा अवस्थित छ । हाटखोली पुग्नु भन्दा २÷३ किलोमिटर बरैबाट पर–परसम्म देखिएका मनमोहक दृश्य, डाँडा पखेरा अनि घना जङ्गल, सुकेका बगरहरूले दृश्यावलोकन गर्ने जो कोहीको स्मृतिमा अनौठो आकृति भराउँछ ।
गाँजरी झरना
कैलालीको गोदावरी नगरपालिका – ४ गाँजरीमा रहेको ‘गाँजरी झरना’ पर्यटकको मनोरञ्जनका लागी उपयुक्त स्थान हो । यो झरना चुरेको फेदमा अवस्थित भएको हुँदा चारैतिर पथरै पथर रहेका छन् । प्रचारप्रसार नहुँदा ओझेल जस्तै बनेको यो झरना एउटा भर्जिन गन्तव्य हो । गाँजरी गाउँको ठिक तल रहेको हुनाले उक्त झरनाको नाम गाँजरी रहन गएको बताइएको छ ।
वरिपरि शान्त, सुन्दर र हरियाली जङ्गलका बिच आफ्नो छुट्टै अस्तित्व रहेको उक्त झरनामा बाह्रै महिना पानी बगी रहने गर्दछ । लगभग सय मिटर लामो यो झरनाको मजासँगै आगन्तुकले अन्य साना ठुला २–३ वटा झरनाको पनि अवलोकन गर्न सक्नेछन् । चटानै–चटान रहेको हुँदा गर्मी याममा यो झरनामा अझै बढी आनन्द लिन सकिन्छ ।
गोदावरी नगरपालिकाको मध्य विन्दु अत्तरिया चौकबाट ७ किलोमिटर पूर्वमा पर्ने स्याउले बजार बाट २० किलोमिटर उत्तर हाटखोली हुँदै चेप्टे खोला र त्यहाँ बाट आधा घण्टाको उकालो पैदल यात्रापछि गाँजरी झरना पुग्न सकिन्छ ।