धनगढीमा भूमिगत पानीको पुनर्भरण गर्न ‘सञ्चय पोखरी’ निर्माण गरिने

धनगढी, कैलालीको धनगढीमा भूमिगत जलभण्डारको पुनर्भरण गर्न पानी सञ्चय पोखरी निर्माण गरिने भएको छ।

भूमिगत जलभण्डारको पुनर्भरण र सिँचाई सुविधा विस्तारका लागि पानी सञ्चय पोखरी निर्माण गरिने भएको हो। धनगढी उपमहानगरपालिकाले सिँचाई सुविधा नभएको कृषियोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न स्यालो ट्युवेल तथा सौर्य सिँचाई जडान गर्न र आधुनिक प्रविधिबाट चक्लाबन्दी खेती गर्न आधुनिक कृषियन्त्र तथा औजार खरिदमा कृषकलाई अनुदान दिने व्यवस्था गर्ने जनाएको छ।

यसका साथै सिँचाईका लागि आर्टिजन बोरिङ निर्माण गर्ने कार्य बन्द गर्ने नीतिलाई समेत निरन्तरता दिइने भएको छ। प्रारङ्गारिक खेती प्रणालीलाई मिनी पकेट क्षेत्र स्थापना गरेर परीक्षण कार्यक्रमका रुपमा सञ्चालन गर्ने उपमहानगरको योजना छ। गड्यौला मल तथा जैविक मलको उत्पादन र प्रयोग गर्न प्रोत्साहन गरिने उपमहानगरपालिकाले जनाएको छ।

खेती गर्ने माटोको अवस्था थाहा पाउन र खेती गर्दा प्रयोग गरिने मलखादको मात्रा सिफारिस गर्न माटो परीक्षण गर्ने कार्यलाई निरन्तरता दिँदै उपमहानगरपालिकामा स्थापना भएको माटो परीक्षण प्रयोगशालालाई सुदृढ गर्दै लगिने बताइएको छ। तरकारी खेतीमा बढ्दो विषादीको प्रयोग कम गर्न विषादीको प्रयोगबाट हुने नकारात्मक असर, सुरक्षित प्रयोगबारे जनचेतनामुलक कार्यक्रम तथा आइपीएम कृषक पाठशाला नै सञ्चालन गरिने भएको छ।

 

ताजा समाचार