धनगढीः कैलालीको कैलारी गाउँपालिकामा पावर टिलर दिने भन्दै किसानलाई ठग्ने सहकारीका अध्यक्षहरू पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयबाट ठगीमा संलग्न कालीमाई सहकारी संस्थाका अध्यक्ष अमृत चौधरी, बाल सशक्तीकरण नेपाल सहकारी संस्थाका अध्यक्ष योगेश योगी र अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चोधरी पक्राउ परेका हुन्। किसानहरूलाई पावर टिलर बाढ्ने भन्दै ठगी गरेको भेटिएपछि तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यसअघि जिल्ला प्रशासन कार्यालय कैलालीले सत्यतथ्य बुझ्न अनुसन्धानका लागि पत्राचार गरेको थियो। अनुसन्धानका क्रममा सहकारीका अध्यक्षहरूले कैफियत गरेको तथ्य फेला परेपछि उनीहरूलाई मङ्गलवार नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

यस्तो छ घटनाको नालीबेली
कैलारी गाउँपालिकामा किसानलाई ५० प्रतिशत अनुदानमा पावर टिलर बाड्ने भन्दै कालीमाई, अखुवा र बाल सशक्तीकरण सहकारी संस्थाले किसानबाट रकम उठाएका थिए। कैलारीका विभिन्न वडाका किसानबाट जनही ६६ हजार २५० देखि एक लाख २५ हजारसम्म रकम असुल गरिएको थियो। बाल सशक्तीकरण नेपालले मात्रै एक सय थान पावर टिलर दिने भन्दै किसानबाट पैसा सङ्कलन गरेको छ।
रसिद तथा बैँक भौचर केही पनि प्रमाण नदिएर सहकारीहरूले रकम असुलेको पीडित किसानहरूले बताएका छन्। सहकारीहरूले विभिन्न एजेन्सीको हावाला दिएर अनुदाना पावर टिलर दिने भन्दै रकम असुलेका हुन्। असार सकिन लाग्दा समेत पावर टिलर उपलब्ध नगराएपछि किसानहरू ठगिको समाचार प्रकाशित भएका थिए। ठूलो सङ्ख्यामा किसान ठगिएको गुनासो न्यायिक समितिमा सुनुवाइ नभएपछि पीडित किसानहरूले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए।
जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक अनुसन्धानमा सहकारीका अध्यक्षहरूको कैफियत देखिएपछि थुनामा राखेर अनुसन्धान गर्न तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो। कैलारी गाउँपालिका क्षेत्रमा ठगिएका किसान र रकमका विषयमा पूर्ण विवरण प्राप्त भएको छैन। किसानले व्यक्तिको खाता तथा नगद रकम बुझाएका छन।
ठगीमा संलग्न व्यक्ति छुटाउने काँग्रेस नेता मिश्रको दौडधुप असफल
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले रकम असुलीमा संलग्न सहकारीका अध्यक्षहरू अमृत चौधरी, योगेश योगी र सीताराम चौधरीलाई जिल्ला प्रशासन कार्यालय कैलालीमा झिकाए। उनीहरूलाई थुन्न नदिन कैलाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव केशव मिश्र र कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीलगायका काँग्रेसी नेताहरूको प्रयास असफल भएको छ।
मिश्र र चौधरीले प्रमुख जिल्ला अधिकारीलाई दबाब दिएर योगी, चौधरी र चौधरीलाई थुनामा लैजानबाट जोगाउन गरेको चलखेल सफल हुन नसकेको जिल्ला प्रशासन कार्यालय स्रोतको दाबी छ। सायौँ किसानको पैसा खाने व्यक्तिलाई कानूनअनुसार दण्डित गराउन राज्यलाई दबाब दिन सक्रिय हुनुपर्ने व्यक्ति स्वयँ पीडककै पक्षमा उभिएको भन्दै ठगीमा परेका किसानले गुनासो गरेका छन्।