बाढीले कैलालीको जनजीवन प्रभावित

टीकापुर : लगातार वर्षापछि आएको बाढीका कारण कैलालीको जनजीवन प्रभावित बन्न पुगेको छ। कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन्। पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ।

स्थानीय कृष्ण धमालाका अनुसार भजनीमा केही परिवार रातभरि बस्ती छोडेर सडकमा सरेका छन्। नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरू बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन्।

‘निरन्तरको वर्षाले बस्ती डुबानमा परेपछि सयौँ परिवार सरसामानसहित सडक तथा उच्च घरमा सरेका हुन्’, उनले भने, ‘कतिपय आफन्तकोमा बसिरहेका छन्।’ बाढीका कारण विशेष गरी कैलालीको दक्षिण तथा पूर्वी क्षेत्र जलमग्न भएको छ। चुरेबाट बग्ने खोला र कर्णाली नदीमा पानीको सतह बढेपछि कैलालीको टीकापुर, भजनी, जानकी र जोशीपुरका तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन्।

टीकापुर नगरपालिकामा केही परिवार विस्थापित भएका छन्। विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले पथरैया नदीमा आएको बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको जानकारी दिए। ‘बाढी पसेपछि टीकापुरका जोखिममा रहेका केही परिवारलाई जेसिज हल र केहीलाई उच्च घरमा राखिएको छ’, उनले भने, ‘वडा वडामा रहेका विपद् व्यवस्थापन समिति र पालिकाले तालिम दिएका स्वयंसेवक खोज तथा उद्धारका लागि समुदायमा परिचालन गरेका छौँ।’ कर्णाली नदीमा पानीको सतह बढेमा टीकापुरका वडा नं २, ५, ७ र ८ डुबानको जोखिममा पर्दछन्।

 

ताजा समाचार