गोदावरीमा वन अतिक्रमण गराउनमा वन कार्यालय नै अग्रसर रहेको छ : नगर-प्रमुख भट्ट

अत्तरिया,कैलालीको गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले वन अतिक्रमण गराउनका लागि वन कार्यालय नै अग्रसर रहेको दावी गरेका छन । आइतबार गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायिक वनको साधारण सभामा बोल्दै उनले सो दावी गरेका हुन ।

‘अहिले वनमा व्यक्ति विशेषका घर बनेका छन । तर, सार्वजनिक संघ संस्था बन्नबाट रोकिएको छ । हामी वडा नम्बर ४ को भवन निर्माण गर्न सफल भयौ । वनले कति तगारो हाल्यो’ उनले भने ‘वन अतिक्रमण गरेर, वन नास गरेर, रूख काटेर बनाएको हो भने एक कुरा हो । त्यो वडा कार्यालय तपाई हामी सबैको होइन् ? जनताको होइन ? कसैको घर बन्या हो र ? यो राधाकृष्ण मन्दिर तपाइ हामी सबैको होइन ? हामीले त्यसमा बजेट राखेका थियौ । त्यो वनले किन रोकेको छ ।’

उनले वन कार्यालयले वनमा व्यक्तिका घर बनाउन दिएर पैसा खाने गरेको आरोप लगाए । ‘व्यक्ति विशेषका घर बन्न दिने । त्यहाँबाट पैसा पनि खाने होला । म खोलेर भन्न चाहन्छु । मैले यो कुरा डिएफओलाई पनि भनेको छु । आज यो सबैलाई चाहिने धार्मिक स्थल किन रोकेका हुन । व्यक्ति विशेषका घर बन्न दिने । यस्तो पनि कानुन हुन्छ’ उनले भने ‘अतिक्रमण गराउनमा कोही अग्रसर छ भने त्यो वन कार्यालय हो । म ठोकेर भन्छु ।’

उनले दुर्गालक्ष्मी सामुदायिक वन भन्ने बितीकै नेपाली सेना र सशस्त्र प्रहरी बलको चपेटामा परेको वन भएको बताए । उनले अत्तरियामा व्यवस्थित बसपार्कको आवश्यकता रहेको भएपनि सेनाकै कारण बनाउन नपाइएको बताए । गोदावरीको समग्र विकासमा नेपाली सेनाको कारण अवरोध भएको उनको भनाइ छ ।

उनले दुर्गालक्ष्मी बहुमुखी क्याम्पस जाने बाटो पनि सशस्त्र प्रहरीले बन्द गर्न खोजेको बताए । ‘३ दिन अघि मात्रै सर्वदलीय टोलीले सशस्त्र प्रहरीका डिआइजीलाई भेट्दा बीचको बाटो बन्द गर्नुपर्छ भनेर टाढा जंगलको छेउतिरको बाटो देखाउनु भएको छ । यो बाटो बन्द गर्छौ भनेका छन्’ उनले भने ‘ठाउँ हाम्रो, विकास हामीलाई चाहिने, वहाँहरूले मनपरी गर्न त पाउनु हुन्न ।’

उनले सशस्त्र प्रहरी र नेपाली सेनाले वन सँग समन्वय नगरी राजाका पालामा गलत नियतका साथ वन अतिक्रमण गरिएको बताए । ‘वहाँहरूले २०६०/६१ सालमा जग्गाको भोगाधिकार पाउँदै गर्दा त्यो भन्दा अघि सामुदायिक वन २०५४ सालमा स्थापना भएको थियो’ उनले भने ‘त्यतिबेला किन सामुदायिक वन संग समन्वय गरिएन । त्यति बेला राजा ज्ञानेन्द्रको शासनकालमा, निर्वाचित जनप्रतिनिधि नभएको बेला गलत नियतका साथ वहाँहरूले लिएको हामीलाई थाहा छ ।’

 

ताजा समाचार