कैलालीको गोदावरी,खैराना र खुटिया नदीबाट अबैध दोहन भएको पुष्टि

धनगढी, कैलालीको गोदावरीका तीनवटा नदीमा अबैध दोहन भएको विषय पुष्टि भएको छ। गोदावरी, खैराना र खुटिया नदीमा नदीजन्य पदार्थको अवैध उत्खनन भएको हो। गोदावरी नगरपालिकाको संलग्नतामै नदीबाट प्राकृति स्रोतको दोहन भएको पाइएको छ। नगरपालिकाले नदीमा एक्स्काभेटर र डोजर लगाएर मापदण्ड विपरीत ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गरिरहेको जिल्लास्तरीय अनुगमन समितिले फेला पारेको छ।

समितिले अनुगमनका क्रममा एक्स्काभेटरसहित १९ वटा गाडी नियन्त्रणमा लिएको छ। आइतवार साँझ गोदावरी नगरपालिकाको गोदावरी, खैराना र खुटिया नदीबाट नदीजन्य पदार्थ उत्खननमा प्रयोग भइरहेका मेसिन, उपकरण र गाडी नियन्त्रणमा लिइएको हो। जिल्ला समन्वय समिति कैलालीका कार्यबाहक प्रमुख एवं नदीजन्य पदार्थको जिल्लास्तरीय अनुगमन समितिका संयोजक खगराज भुसाल नेतृत्वको प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसहितको टोलीले अवैध उत्खनन्मा प्रयोग भइरहेका उपकरण र गाडी नियन्त्रणमा लिएको हो।

गोदावरी नगरपालिकाको तीनवटै नदीमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् भएको अनुगमन समितिका संयोजक भुसालले बताए। नदीबाट मापदण्ड विपरीत ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा प्रयोग भएका तीनवटा एक्स्काभेटर, ३ जेसिबी, १० वटा टिपर र तीनवटा ट्याक्टर अनुगम समितिले नियन्त्रणमा लिएको उनले बताए। नियन्त्रणमा लिएका मेसिन र गाडी इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।

अनुगमन टोलीले नदी तथा खोलामा जथाभावी ढुङ्गा, गिट्टी र बालुवा उत्खनन् गरिँदा प्राकृति, वातावरणीय र जमिनमुनिको पानीको सतहमा प्रतिकूल असर पर्ने विषयलाई बेवास्ता गरिएको बताउँछन् डिभिजन वन कार्यालय धनगढीका प्रमुख वन अधिकृत एवं अनुगमन समितिका सदस्य रामचन्द्र कँडेलले बताए। गोदावरी नगरपालिकाले गत असोज २३ गतेदेखि गोदावरी, खैराना र खुटिया नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न थालेको हो। यो अवधिमा ढुङ्गा, गिट्टी र बालुवा अन्धाधुन्ध दोहन गरिएको छ।

आइई रिपोर्ट बनाएर सोही मापदण्डअनुसार ठेक्कामा लगाएर वैध तरिकाले नदीजन्य पदार्थ संकलन गर्नुपर्नेमा ठेक्कामा नलगाएरै नगरपालिकाले मनोमानी ढङ्गले नदी उत्खनन गरेको हो। नियन्त्रणमा लिएका मेसिन र गाडी धनीहरूलाई कानुनअनुसार कारबाही गर्ने र नगरपालिकाले नदी उत्खनन गर्न अपनाएको विधि र प्रक्रियाको समेत अध्ययन र अनुसन्धान गरिने जिल्ला अनुगमन समितिका संयोजक भुसालले बताए। गोदावरी नगरपालिकाले तीनवटै नदीबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन गर्न दिएको स्थानीयले समेत गुनासो गरेका छन्।

 

ताजा समाचार