सुदुरपश्चिममा पेन्ट उत्पादन गर्ने कम्पनीको आईपिओ आउर्दै

अत्तरिया, सुदुरपश्चिममा प्रधान कार्यालय रहेको सर्वोत्तम पेन्ट्सले सर्वसाधारणका लागि शेयर जारी गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको साधारण सभाले शेयर निस्कासन गर्ने निर्णय गरेको हो।

साधारण सभाले कम्पनीको उत्पादन क्षमता बढाउने र बजार विस्तार गर्ने निर्णयसमेत गरेको छ। यस्तै कम्पनी को पुँजी बढाएर ३० करोड बनाउने समेत निर्णय भएको छ। कम्पनीका सञ्चालक शिवसिंह कार्कीले साधारण सभाबाट बोनस शेयर वितरण गर्ने निर्णय भएको बताए।

उनले कम्पनीले चुक्ता पुँजीको ३७ दशमलव ६३ प्रतिशतले हुन आउने रकमको बोनस शेयर वितरण गर्ने निर्णय भएको बताए। कम्पनीले २० प्रतिशत शेयर कर्मचारी र सर्वसाधारणका लागि जारी गर्ने निर्णयसमेत गरेको छ। साधारण सभाबाट कर्मचारी तथा सर्वसाधारणका लागि शेयर जारी गर्न कम्पनीलाई नेपाल स्टक एक्सचेञ्ज र धितोपत्र बोर्डमा सूचीकृत गराउने निर्णय भएको कार्कीले बताए।

सर्वोत्तम पेन्ट्स सुदूरपश्चिमको पहिलो लिमिटेड पेन्ट्स कम्पनी रहेको र देशभर कम्पनीको डिलर विस्तार भइरहेको जनाइएको छ। यसको प्रधान कार्यालय कैलालीको अत्तरिया तेघरीमा रहेको छ ।

 

ताजा समाचार