नेपालले पाकिस्तानलाई दियो १९८ रनको लक्ष्य

काठमाडौँ , दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी पाकिस्तानलाई जितका लागि एक सय ९८ रनको लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको हो ।

नेपालका लागि ओपनर बिपिन रावलले सर्वाधिक ३९ रन बनाए । कप्तान देब खनालले पनि २३ रन जोडे । गुलसन झाले टोलीको खातामा १८ रन थपे । दीपक डुम्रेले २६ रन बनाए । दिपेश कँडेलले पनि १३ रन बनाए । आकाश चन्द १६ रनमा अविजित रहे । उनले ११ बलमा एक छक्का र एक चौका पनि हिर्काएका थिए । दुर्गेस गुप्ता अन्तिम विकेटका रुपमा शून्य रनमा पेभेलियन फर्किए ।

पाकिस्तानका बलर अराफाता मिनहसले तीन विकेट लिए । अहमद हुसैन र उबैद शाहले पनि दुई–दुई विकेट हात पारे । खुबैद खलिल, अली असफान्द र मोहम्मद जिसनले पनि एक–एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा पनि २६ रन पाएको थियो ।पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २९ रन बनाएको थियो ।

दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । उनलाई पनि पाकिस्तानी बलर अहमद हुसैनले अराफत मिनहसद्वारा क्याच गराए । ६.५ ओभरमा आकाश आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । नेपालले तेस्रो विकेटका रुपमा कप्तान कप्तान देब खनाललाई गुमाएको थियो । उनी २३ रन बनाउँदै आउट भएका थिए । उनले ३७ बलको सामना गरी तीन चौका हिर्काए । १७.१ ओभरमा उनी आउट हुँदा नेपालले ८० रन बनाएको थियो । उनलाई अली असफान्दले उबैद शाहद्वारा क्याच गराएका थिए ।

चौथो विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगर १५ बलमा चार रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान उत्तमलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । २१औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।

पाँचौँ विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान बिपिन रावललाई गुमाएको थियो । उनी ३९ रन बनाउँदै पेभेलियन फर्किए । उनले ६८ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए । उनलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले २६.४ ओभरमा ९६ रन बनाएको थियो ।

नेपालले छैटौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ४७ बलमा १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई पाकिस्तानी बलर खुबैब खलिलले अराफात मिनहसद्वारा क्याच गराएका थिए । ३७.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो ।

सातौँ विकेटका रुपमा नेपालले दिपेश कँडेललाई गुमाएको थियो । उनी १७ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अराफात मिनहसले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ४२.२ ओभरमा एक सय ४८ रन बनाएको थियो ।

आठौँ विकेटका रुपमा नेपालले दीपक डुम्रेलाई गुमाएको थियो । उनी २६ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलमा एक चौका पनि हिर्काए । उनलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराए । उनी आउट हुँदा नेपालले ४६.५ ओभरमा एक सय ७२ रन बनाएको थियो ।

नेपालले नवौँ विकेटका रुपमा सुवाष भण्डारीलाई गुमाएको थियो । उनी २४ बलमा २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनको विकेट पाकिस्तानी बलर उबैद शाहले लिएका थिए । उनी आउट हुँदा नेपालले ४९.५ ओभरमा एक सय ९७ रन बनाँएको थियो ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । यू–१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो ।

 

ताजा समाचार