टेलिकम अत्तरिया प्रकरणः कबाडमै एक करोड ३३ लाख घोटला

धनगढी, नेपाल टेलिकम दूरसञ्चार निर्देशनालय, अत्तरिया र बिएसएल कन्स्ट्रक्सन काठमाडौँका बिचमा तामाजन्य कबाड खरिद–बिक्रीका लागि सम्झौता गरेको थियो। बिएसएल कन्स्ट्रक्सन काठमाडौँले ९६ हजार दुई सय ५७ दशमलव ३५ किलोग्राम तामाज्य कबाड खरिदका लागि टेलिकमको खातामा धरौटी रकम जम्मा गरेको थियो।

कम्पनीले निर्देशनालयको खातामा मंसिर २२ गते ८ करोड १९ लाख चार हजार चार सय १६ रुपैयाँ जम्मा गरेको छ। कम्पनीले पुस ६ गतेबाट टेलिकमको गोदामबाट कबाड सङ्कलन सुरु गरेको थियो। तर, टेलिकमका गोदामहरुबाट सङ्कलन गरिएको तामाज्य कबाडको तौल र ट्रकहरुमा रहेको कबाडको तौलमा फरक फरक परेको छ।

छानबिन समितिका संयोजक शिवराज जोशीका अनुसार नेपाल टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम भनेर बिक्री गरेको कबाड २९ हजार एक सय ३० किलोग्राम फेला परेको बताए। उनका अनुसार टेलिकमसँग रहेको बिल र ट्रकमा रहेको कबाडको तोल १२ हजार ५३ किलोग्राम बढी देखिएको छ।

टेलिकमले प्रतिकिलो ८ सय ५० रुपैयाँ ८९ पैसामा विक्री गर्ने सम्झौता गरेको थियो। सो अनुसार एक करोड ३३ लाख १३ हजार तीन सय ७२ रुपैयाँ ३१ पैसा बढी देखिएको छ। यस हिसाबले टेलिकमले १२ हजार ५३ किलोग्राम कबाड ती दुई ट्रकमा पठाएको खुलेको छ।

गेटामा रहेको गोदाममा १२ हजार ५३ किलोग्राम कबाड रहेको टेलिकमको तथ्याङ्क छ। तर, टेलिकमले १५ हजार ६ सय ७९ किलोग्राम कबाड बिक्री गरेको पत्र बनाएको छ। टेलिकमले ना ६ ख ४६० र रा १ ख ३२०६ नम्बरको ट्रकमा तामाजन्य कबाड बिक्री गरेर पठाएको हो। स्थानीय प्रशासनले गत आइतवार नियन्त्रणमा लिएका दुबै ट्रकमा टेलिकमले बिक्री गरेको भन्दा झण्डै दोब्बर तौलको कबाड रहेको पुस्टि भएको छ।

इलाका प्रहरी कार्यालय, मालाखेतीले नियन्त्रणमा लिएको रा १ ख ३२०६ नम्बरको ट्रकमा रहेको तामाजन्य पदार्थको तौल १४ हजार नौ सय ८२ दशमलव ८० किलोग्राम रहेको फेला परेको छ। ४६० नम्बरको ट्रकमा थप १२ हजार सात सय ४९ दशमलव २० किलोग्राम कबाड फेला परेको छ। आइतवार गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलोग्राम कबाड बिक्री भएकोमा २७ हजार ९ सय ३२ किलोग्राम फेला परेको छ। टेलिकमले बिक्री गरेको भन्दा ट्रकमा १२ हजार दुई सय ५३ किलोग्राम कबाट बढी रहेको पुष्टि भएको छ।

तर, बिएसएल कन्स्ट्रक्सन प्रतिनिधि श्रीराम शाहले आफ्नो गोदामबाट थप कबाड ढुवानीका लागि ट्रकमा राखेको बताए। गेटास्थित गोदामबाट १५ हजार ६ सय ७९ किलो (१५ दशमलव ६७९ टन) निकासी भएको अभिलेख टेलिकमको छ। तर, प्रहरीले नियन्त्रणमा लिइएका दुईवटै लोड ट्रकको तौल ५१ हजार ८३५ किलो (५१ दशमलव ८३५ टन) देखिएको छ। दुईवटा ट्रक मध्ये रा १ ख ३२०६ नम्बरको ट्रक इलाका प्रहरी कार्यालय मालाखेतीले आइतवार गेटाबाट नियन्त्रणमा लिएको थियो। उक्त लोड ट्रकको तौल २७ हजार ८३५ किलो (२७ दशमलव ८३० टन) छ। अहिलेसम्म ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरिसकेको अभिलेख छ।

जसअन्तर्गत धनगढी कार्यालयबाट २८ हजार ९७० किलो, भजनीबाट एक हजार ६३७ किलो, टीकापुरबाट १० हजार १४४ किलो र गेटाबाट १५ हजार ६७९ किलो गरी ६७ हजार २४९ किलो तामाजन्य सामग्री खरिद गरेको टेलिकमको प्रादेशिक निर्देशनालयको अभिलेख छ। सम्झौता अनुसार अब अत्तरिया, लम्की, महेन्द्रनगर, डडेल्धुरा र दीपालयबाट सामान उठाउन बाँकी छ।

 

ताजा समाचार